नवकान्तिपुर संवाददाता
खोटाङ, १४ जेठ ।

नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घले यही जेठ–१७ गतेदेखि ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ ।
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा जेठ १७, १८ र १९ गते चलचित्र महासङ्घले छैटौँ महोत्सवको आयोजना गर्ने भएको हो ।
काठमाडौँस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवङ्शी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेड वृत्तचित्र प्रदर्शन गरिने महोत्सव आयोजक समितिका निर्देशक सागर केरुङले जानकारी दिनुभयो ।
“आदिवासी चलचित्रलाई कला वा मनोरञ्जनका रूपमा मात्र होइन । सभ्यता, अस्तित्व र सांस्कृतिक सार्वभौमिकतासँग जोडेर हेरिनुपर्छ”, उहाँले भन्नुभयो, “छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव– २०८३ मा आदिवासी जनजातिको भाषा बोल्छ, इतिहास बोल्छ, भूमि बोल्छ, पूर्वजहरुको स्मृति बोल्छ र सिङ्गो आदिवासी जनजाति समुदायको जीवित आत्मा बोल्छ । महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्रको एक सशक्त केन्द्रका रुपमा स्थापित गर्छ ।”
महोत्सवमा कथानक चलचित्रतर्फ दिनेश लिङ्देन निर्देशित रित, अमृतमान महर्जन निर्देशित स्वयनगु, जनक गुरुङ निर्देशित ङोल्स्यो रामरानी, निमा लामा तामाङ निर्देशित ह्याङ तामाङ तथा अशोक आले मगर निर्देशित दिलसरा प्रदर्शन गरिने जनाइएको छ ।
लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित तङसिङ, हुतबहादुर तामाङ निर्देशित दुखला ग्यम, विपना तामाङ भुजेल निर्देशित निको पहिचान तथा विशाल रोकामगर निर्देशित लाहुरेनी प्रदर्शन हुने आयोजकले जनाएको छ ।
वृत्तचित्रतर्फ अनिल बूढामगर निर्देशित आग्रे, होमकुमारी माझी निर्देशित लदि पूजा तथा अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र विराटनगरके प्राचीन राजवङ्शी प्रदर्शन गरिनेछ ।
महोत्सवले चलचित्रकर्मी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ताबीच नयाँ संवाद, सहकार्य र वैकल्पिक सिनेम्याटिक विमर्श निर्माण गर्ने विश्वास लिइएको छ ।
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ का बारेमा आयोजकले आज अनामागरस्थित सिलौटा कटेजमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष अमृतबहादुर सुनुवार, नेपाल आदिवासी जनजाति पत्रकार सङ्घका अध्यक्ष समीर बलामी तथा आदिवासी कलाकारहरुको सहभागिता थियो ।

