इरानसँग सम्झौता ‘धेरै नजिक’ : भान्स

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीचको सम्भावित रणनीतिक समझदारी निर्णायक चरणमा पुगेको बताउँदै वासिङ्टन व्यापक सम्झौताबाट ‘धेरै नजिक’ रहेको दाबी गर्नुभएको छ ।

उहाँका अनुसार सम्भावित सहमतिले स्ट्रेट अफ हर्मुजमा आवागमन सहज बनाउने, इरानको सैन्य क्षमता कमजोर पार्ने तथा तेहरानको आणविक कार्यक्रमलाई दीर्घकालीन रूपमा पछि धकेल्ने अमेरिकी लक्ष्यलाई बल पुग्नेछ ।

मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीसँग कुरा गर्दै भान्सले हालसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो ।

उहाँले अन्तिम सहमति भएमा हर्मुज जलघाँटी पुनः खुल्ने, इरानको परम्परागत सैन्य संरचनामा गम्भीर असर पर्ने र आणविक कार्यक्रममाथि उल्लेखनीय नियन्त्रण सम्भव हुने बताउनुभयो ।

यद्यपि प्रक्रिया अझै पूरा नभइसकेको उल्लेख गर्दै उहाँले वार्ता जारी रहेको र सहमतितर्फको दूरी निकै कम भएको सङ्केत दिनुभयो ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आर्थिक दबाब र सुरक्षा रणनीतिले इरानलाई वार्तामा ल्याउन भूमिका खेलेको दाबी गर्नुभएको छ । ह्वाइट हाउस ब्रिफिङमा उहाँले यसअघिका प्रशासनले हासिल गर्न नसकेको विषय ट्रम्प प्रशासनले सम्भव बनाएको टिप्पणी गर्नुभयो ।

बेसेन्टका अनुसार सम्भावित सम्झौताको अन्तिम निर्णय राष्ट्रपति ट्रम्पको हातमा रहनेछ र कुनै पनि सहमतिले अमेरिकी मागहरू पूरा गर्नुपर्नेछ । उहाँले इरानले उच्च स्तरमा समृद्ध बनाइएको युरेनियम फिर्ता गर्नुपर्ने, आणविक हतियार नखोज्ने प्रतिबद्धता जनाउनुपर्ने तथा हर्मुज जलघाँटीमा निर्बाध समुद्री आवागमन सुनिश्चित गर्नुपर्ने सर्त दोहोर्‍याउनुभयो ।

यसबीच अमेरिकी र इरानी वार्ताकारहरूबीच ६० दिनको अस्थायी समझदारी ज्ञापनपत्र (एमओयु) मा सहमति जुटेको खबर सार्वजनिक भएको छ ।

एक्सियोसको रिपोर्टअनुसार युद्धविरामलाई विस्तार गर्ने र औपचारिक आणविक वार्ताको आधार तयार गर्ने उद्देश्यले बनेको यो प्रारम्भिक समझदारी अहिले राष्ट्रपति ट्रम्प र इरान पक्षको अन्तिम स्वीकृतिको प्रतीक्षामा रहेको छ ।

रिपोर्टमा अधिकांश प्राविधिक विषयहरू टुङ्गिएको उल्लेख गरिए पनि अन्तिम निर्णय शीर्ष नेतृत्वको अनुमतिमा निर्भर रहेको जनाइएको छ । एक अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति ट्रम्पले अन्तिम मस्यौदा अध्ययन गर्न थप केही दिन समय माग्नुभएको छ ।

यदि यो सहमति अन्तिम रूपमै पुग्यो भने, फेब्रुअरी २८ यता पश्चिम एसियामा जारी तनावपछि यो सबैभन्दा महत्त्वपूर्ण कूटनीतिक उपलब्धिमध्ये एक बन्न सक्ने आकलन गरिएको छ ।

यद्यपि अधिकारीहरूले ट्रम्प प्रशासनका आणविक सर्तहरू समेट्ने विस्तृत सम्झौताका लागि थप गहन वार्ता आवश्यक रहने स्पष्ट पारेका छन् ।

सम्बन्धित समाचार