नवकान्तिपुर संवाददाता
काठमाडौं, २० जेठ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।
अफ्रिकी मुलुकमा इबोला भाइरस सङ्क्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका लागि उच्च सतर्कता अनपाएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र सीमानाकामा निगरानी तथा उच्च सतर्कता अपनाइएको बताउनुभयो । “अहिले जहाँ सङ्क्रमण देखिएको त्यो देशभन्दा हामी टाढा रहेका छौँ । तर पनि हामी नेपालमा भाइरसको सङ्क्रमणको प्रवेश नगरोस् भनेर उच्च सतर्कता अपनाएका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी अभिमुखीकरणसहित उपचार व्यवस्थापन तथा सङ्क्रमण नियन्त्रणका उपायबारे पनि छलफल गरिएको छ ।”
उहाँले इवोला सङ्क्रमण भएको ठाउँमा जान सक्ने नेपालीको व्यवस्था र मापदण्डका विषयमा समन्वय भइरहेको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अन्तरराष्ट्रिय सरोकारको जनस्वास्थ्य आपत्कालीन अवस्था घोषणा गरेको छ ।
मन्त्रालयले सङ्क्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेशविन्दुमा स्वास्थ्यकर्मी परिचालन गरी शङ्कास्पद बिरामीको परीक्षणसमेत गरिरहेको उहाँले बताउनुभयो । नेपालमा अहिलेसम्म इबोला भाइरसको सङ्क्रमणको पृष्टि भएको छैन ।
लक्षण
अचानक कडा ज्वरो आउने र अत्यधिक कमजोरी महसुस हुने, वान्ता हुने, पाखला लाग्ने र पेट दुख्ने, टाउको मासपेशी तथा घाँटी दुख्ने, छालामा डाबर देखिने, कलेजो तथा मिर्गौलाको कार्यमा असर पुग्ने, केही बिरामीमा आन्तरिक वा बाह्य रक्तश्राव हुने गर्दछ ।

