नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ जेठ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राथमिकता निर्धारण गरी विपद् व्यवस्थापन र पूर्वतयारीमा लाग्न विषयगत क्षेत्रका प्रतिनिधिहरूलाई आग्रह गरेको छ ।
यस वर्षको मनसुनको पूर्वतयारीका सन्दर्भमा सोमबार सिंहदरबारमा भएको विषयगत क्षेत्रका नेतृत्वकर्ता र सहनेतृत्वकर्ता (लिड्स र कोलिड्स) मन्त्रालय र सङ्घसंस्थाका प्रतिनिधिहरूसँगको छलफलमा प्राधिकरणले मनसुन भित्रिने समय भइसकेकाले आइपर्ने मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न आग्रह गरेको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले प्राथमिकता निर्धारण गरी पूर्वतयारीका काममा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले विषयगत समितिलाई प्राप्त जिम्मेवारी पूर्ण रूपमा कार्यान्वयन गरेको खण्डमा प्रर्वतयारीका काम प्रभावकारी हुनेसमेत बताउनुभयो ।
छलफलमा विषयगत क्षेत्रका लिड्स-मन्त्रालय र कोलिड्स-विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले आआफ्नो क्षेत्रमा भइरहेको पूर्वतयारीबारे जानकारी गराउनुभएको थियो ।
गृह मन्त्रालयका सहसचिव, विपद् तथा द्वन्द्ध व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीले विपद् जोखिम न्यूनीकरण सरकारको प्राथमिकतामा रहेकाले सोही अनुसार काम गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, पोषणलगायत गरी ११ वटा विषयगत क्षेत्रहरू तोकिएका छन् । प्राधिकरणले यसअघि विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय कार्ययोजना तयार पारी लागू गरिसकेको छ । सोहीअनुसार नेपालमा ५१ हजार परिवारका दुई लाख २६ हजार बढी नागरिक प्रभावित हुने आकलन गरिएको छ ।
सोहीअनुसार विषयगत समिति तयारीमा रहनुपर्नेमा जोड दिइएको कार्यकारी प्रमुख कोइरालाले बताउनुभयो । उहाँका अनुसार यसपालिको मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ ।

