नवकान्तिपुर संवाददाता
मुस्ताङ, ६ असार।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवको ११ एघार महिनामा रु सात अर्ब ६६ करोड ८५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
चालु आवको साउनदेखि जेठ मसान्तसम्म नेपाल–चीन उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारी मालवस्तुबापत मुस्ताङ भन्सार कार्यालयले उक्त परिमाणमा राजश्व सङ्कलन गरेको हो ।
कार्यालयका प्रमुख विदुर चुडालका अनुसार नेपाल–चीन उत्तरी कोरलानाकाबाट रु १३ अर्ब ८९ करोड ५२ लाख मुल्य बराबरको मालवस्तु पैठारी भएको छ ।
यसैगरी रु २० करोड ५५ लाख ७४ हजार मुल्य बराबरको मालवस्तु भन्सार जाँचपास भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख चुडालले जानकारी दिनुभयो । उहाँका अनुसार यस नाका गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
गत जेठसम्म दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन (इभी) कोरलानाबाट भन्सार जाँचपास भई नेपाल भित्रिएका कार्यालयले जनाएको छ । भन्सार प्रमुख चुडालका अनुसार चीनबाट पैठारी गरिएका विद्युतीय सवारीसाधनबाट करिब रु सात अर्ब राजश्व सङ्कलन भएको छ ।
गतवर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै खुल्ला भएको कोरला वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याइएको हो ।
कोरलानाका हुँदै निकासी तथा पैठारी गरिएबापत मुस्ताङ भन्सार कार्यालयले चालु आवको साउनमा सबैभन्दा कम रु सात लाख ५७ हजार र असोजमा सबैभन्दा बढी रु दुई अर्ब ४९ करोड २५ लाख राजश्व सङ्कलन गरेको कार्यालयका प्रमुख चुडालले जानकारी दिनुभयो ।
कोरलानाकाबाट विद्युती सवारीसाधनसहित चाडपर्व लक्षित लत्ताकपडा, इलेक्ट्रोनिक उपकरण, जुत्ताचप्पल, किराना सामग्री, कस्मेटिकलगायत मालवस्तु नेपाल भित्रिने गरेका छन् । यसैगरी नेपालबाट हस्तकलासम्बन्धी सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी हुने गरेका छन् ।
