नवकान्तिपुर संवाददाता
काठमाडौँ, ९ असार l

कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक मिलन चाम्सले चलचित्र निर्माण हुने जानकारी दिनुभयो ।
यसअगाडि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’जस्ता सफल ‘बायोपिक’ चलचित्र निर्देशन गरिसक्नुभएका निर्देशक चाम्सले यसले आफूलाई अवसर र चुनौतीसँगै दिएको बताउनुभयो ।
“यो चलचित्र निर्देशन गर्न पाउँदा म निकै खुसी छु, सर्वप्रिय कलाकारको जीवनीलाई पर्दामा उतार्न पाउनु नै मेरा लागि अवसर हो । उहाँको जीवनीलाई पर्दामा ल्याउने तयारी हुँदै गर्दा धेरै कुराहरू थाहाँ पाएँ, उहाँको जीवनी चलचित्रभन्दा कम छैन”, निर्देशक चाम्सले भन्नुभयो ।
अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनीलाई चलचित्रको पर्दामा ल्याउने तयारी गरिरहनुभएका निर्माण समूहलाई धन्यवाद दिनुभयो ।
“म आफूले सकेको काम गरिरहेको छु, स्वास्थ्यले साथ दिएसम्म शरीरलाई जबर्जस्ती भए पनि काममा लगाइरहनेछु । मेरो जीवनीलाई चलचित्रमा ल्याउन आट गर्नुहुने सम्पूर्ण टोलीलाई धन्यवाद । साथै, यो यात्रामा मसँगै ह अर्थात् हरिवंशको पनि उत्तिकै साथ र भूमिका छ । मेरो जीवनी उहाँ बिना अधुरो र अपुरो छ । त्यसैले म पछाडि हरिवंशको पनि जीवनी पर्दामा ल्याइने भनेपछि मैले मेरो बारेमा चलचित्र बनाउन सहमति दिएको हुँ”, अभिनेता श्रेष्ठले भन्नुभयो ।
अभिनेता श्रेष्ठले चलचित्रमा आफ्नो भूमिका निर्वाह गर्नुहुने कलाकार महेश त्रिपाठीको कामको चर्चा गर्दै सुहाउँदो कलाकार छनोट भएको बताउनुभयो ।
“मेरो र महेशजीको पुराना तस्बिर हेर्ने हो भने उस्तै देखिन्छ, अभिनय त उहाँले गज्जबै गर्नुहुन्छ । राम्रो चलचित्र बन्छ भन्नेमा पूर्ण विश्वस्त छु”, अभिनेता श्रेष्ठले भन्नुभयो । अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको जीवनी चलचित्रका लागि उपयुक्त भएकाले दर्शकका लागि प्रतिक्षित हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मह जोडी बनेर आफूहरूले गरेका काम र सहकार्यसँगै अभिनेता श्रेष्ठको जीवनीका उतारचढावलाई कलात्मक ढङ्गले चलचित्रमा देख्न पाइने बताउनुभयो । “कोही कलाकारको नाम सानो होला, कसैको ठूलो होला । तर, सबैको जीवनीलाई लिएर चलचित्र बनाउन मिल्दैन, किनकी जीवनीमा चलचित्रका लागि चाहिने खुराक पाइँदैन । मदन दाईको जीवनीलाई मैले जति बुझेको छु, उहाँको उतारचढावले दर्शकलाई मनोरञ्जनसँगै एउटा सिकाइ पनि दिन्छ भन्ने लाग्छ । जुन समूहले चलचित्र बनाउने तयारी गर्नुभएको छ, त्यो देखेर म निकै आशावादी छु”, अभिनेता आचार्यले भन्नुभयो ।
अभिनेता श्रेष्ठलाई आफ्नो अभिभावकका रुपमा मान्दै आएको र सहयात्राको ४६ वर्ष पूरा भइसकेको अभिनेता आचार्यले बताउनुभयो ।
उक्त चलचित्रमा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम पौडेल, गौरीशङ्कर धुजु, नरेन्द्र कंशाकारको पनि सहकार्य रहनेछ ।
यस्तै, यम थापाको लेखनमा तयार हुने उक्त चलचित्रमा अभिनेत्री केकी अधिकारी, यमन श्रेष्ठ, रुषा न्यौपाने, देशभक्त खनाललगायत कलाकारको अभिनय रहनेछ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गायिका आनी छोइङ डोल्मा, गायक प्रेमराजा महत, निर्देशक लक्ष्मण सुवेदी, सुदन केसीलगायतको उपस्थिति थियो ।
उक्त चलचित्रको छायाङ्कन भदौदेखि सुरू हुने कार्यक्रममा जानकारी दिइयो ।

