नवकान्तिपुर संवाददाता
चितवन, ९ असार l

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबार बिहान ८:३० बजेबाट सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले आज दिउँसो ३:३० बजेदेखि सुरु भएको हो ।
महाधिवेशनको बन्दसत्रस्थलमा पार्टीका सभापति रवि लामिछानेको मन्तव्यबाट बन्दसत्र सुरु हुँदैछ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्नुहुनेछ । त्यसपछि अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रस्तुत गर्नुहुने आयोगको प्रतिवेदनमाथि छलफल हुनेछ ।
यसैगरी, कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुतिपछि छलफल हुनेछ । त्यस्तै महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुहुने सङ्गठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यतालिका रहेको छ ।
बन्दसत्रअन्तर्गत पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सहमहामन्त्री आचार्यको प्रस्ताव अनुमोदन भएपछि उपसभापति डा स्वर्णिम वाग्लेले पार्टीको अर्थ-राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यसैगरी, पार्टी सभापति लामिछानेले बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्नुहुने छ ।
यसैबीच पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समितिको घोषणा गर्नुहुँदै आयोजक समितिको जिम्मेवारी पार्टीसम्बद्ध निर्वाचन आयोगलाई प्रत्यायोजन गरेको जानकारी गराउनुहुने छ ।
महामन्त्री बुर्लाकोटीका अनुसार महाधिवेशन प्रक्रिया अघि बढ्ने क्रममा अयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी गराई तालिका प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
आइतबार दिउँसो भरतपुरस्थित ‘गेस्टहाउस’ चौरमा उद्घाटन भएको रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा सुरु भएको छ ।

