नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असार।

सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश गरेको छ ।
न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले नेकपा (एमाले) उपाध्यक्ष पौडेलकी पत्नी दोमाया पौडेलले गैरकानुनीरूपमा थुनामा राखिएको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै मंगलबार उक्त मिसिल झिकाउन आदेश गरेको हो ।
रिट निवेदनमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालय, सुर्खेतलाई विपक्षी बनाउँदै गैरकानुनी थुनामुक्त गर्न माग गरिएको थियो । अदालतले मुद्दाको अभियोग पत्रसहितको सक्कल फाइल इजलास समक्ष देखाइ फिर्ता लैजाने गरी सम्बन्धित अदालतबाट झिकाइ मिति यही असार १८ गते पेशी तोक्न भनेको छ ।
आदेशमा रिट निवेदनसँग सम्बन्धित तथ्य र प्रमाणको समग्र अध्ययनका लागि विशेष अदालतबाट दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल, भट्टकै वैकिङ कसुर मुद्दा पाटनबाट झिकाउन भनिएको छ ।
आशिष श्रेष्ठसमेत रहेको बिमासम्बन्धी कसुर मुद्दाको काठमाडौँ जिल्ला अदालतबाट सक्कल मिसिल झिकाउने, सुलभ अग्रवालसमेत भएको धितोपत्रसम्बन्धी कसुरको मुद्दाको सक्कल मिसिल काठमाडौँ जिल्ला अदालतबाट झिकाउन भनिएको छ ।

