नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असार।

विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ । उक्त प्रकरणमा पूर्वसञ्चारमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सफाई पाउनुभएको छ ।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो ।
दोषी ठहर भएका प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित तीनै जनालाई ६ महिना कैद र रु ५० हजार दरले जरिबाना ठहर भएको छ । झाको हकमा थप ६ महिना कैद हुने समेत अदालतले ठहर गरेको छ ।
उक्त टेरामक्स खरिद प्रकरणमा १८ जना प्रतिवादी भएकोमा तीन जनामा दोषी ठहर भएका हुन भने बाँकीले १५ जनाले सफाइ पाएका छन् ।
अदालतले पूर्वसञ्चारमन्त्री बस्नेतसहित प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशकहरु दिपेश आचार्य, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडालाई सफाइ दिएको छ । त्यस्तै, प्राविधरकणका उपनिर्देशकहरु रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र सन्दीप आचार्यलाई सफाइ हुने ठहर गरेको हो । प्राधिकरणका कर्मचारी विजयकुमार रायले पनि सफाइ पाउनुभएको छ ।
त्यस्तै, अदालतले भ्यानराइस एसएएल (अफ्सोर) नामक आपूर्तिकर्ता र त्यसको मुख्य व्यक्ति प्रमुख कार्यकारी अधिकृत जमल अनोटी र स्थानीय एजेन्ट ट्रेडलिङ्क प्रालि तथा अध्यक्ष दीलिपकुमार गुरुङलाई सफाइ दिएको छ ।

