स्थापित प्रक्रियाबाट संविधान संशोधन गर्न सभापति थापाको जोड

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकले प्राप्त गरेको अधिकारलाई थप विस्तार गर्नेगरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सकिने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयक’ कार्यक्रममा उहाँले सहमति, सर्वस्वीकार्य विधि र स्थापित पद्धतिलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।

“हाम्रो संविधानले स्वतन्त्रता र समानतालाई जग मानेको छ, नागरिकले प्राप्त गरेको अधिकारलाई थप विस्तार गर्नेगरी संविधान संशोधन गर्न सकिन्छ । संविधान संशोधन केवल प्रशासनिक र प्रक्रियागत विषयमात्र होइन, जनताको अपनत्व हुनेगरी प्रक्रिया अगाडि बढाउनुपर्ने विषय हो”, उहाँले भन्नुभयो ।

सभापति थापाले संविधान र संविधानमा भएको व्यवस्थासँग असहमति भएका पक्षसँग समेत छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले संविधान जारी गर्ने मूल नेतृत्वकर्ता आफ्नो पार्टी भएकाले संशोधनका लागि पनि जिम्मेवारी लिने उल्लेख गर्नुभयो ।

पार्टीका उपसभापति पुष्पा भुसालले संविधानलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले एउटा विधि प्रक्रिया र प्रणालीबाट जारी भएको संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी पहिचान गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले लोकतान्त्रिक मूल्य, विधिको शासन र जनताको सार्वभौम अधिकारलाई सुरक्षित गरिनुपर्ने बताउनुभयो ।



सम्बन्धित समाचार