नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ असार।

उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गर्नुभएको छ ।
काठमाडौँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटमा उद्योगमन्त्रीले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा पूरा भएकाले नेपाली उत्पादनलाई सो सुविधा पुनः थप गर्न आग्रह गर्नुभयो ।
मन्त्री यादवले दुई देशबीच भएको ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’ अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाइ द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण सुदृढ बनाइएको जानकारी दिँदै उहाँले थप अमेरिकी लगानीलाई आकर्षित गर्न सरकार उत्सुक रहेको बताउनुभयो ।
मन्त्री यादवले जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
भेटमा अमेरिकी कार्यवाहक राजदूत स्कटले व्यापार सहुलियतको निरन्तरता र लगानी प्रवर्द्धनमा अमेरिका सकारात्मक रहेको बताउनुभयो ।
