नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन।

नेपाली कांग्रेसले बिपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा यही साउन ६ गते देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको योगदानको स्मरण गर्ने भएको छ ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा शनिबार भएको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने घोषणा गरेको छ ।
‘जलवायु जनचेतना जगाऔँ, जुटौँ’ नारासहित आयोजना हुने पाँच किलोमिटर लामो दौड ललितपुरको युएन पार्कबाट प्रारम्भ हुनेछ । दौडपछि बिहान ७ बजे जावलाखेल चोकस्थित फल्चामा ‘जलवायु परिवर्तनको चुनौतीः निराकरण कसरी’ शीर्षकमा विषयविज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना गरिने जनाइएको छ ।

