अन्तर्राष्ट्रिय मञ्चमा ‘सप्तरङ्गी संस्कृति’ प्रस्तुत गरेर फर्कियो एभरेष्ट नेपाल कल्चरल ग्रुप  

नेपाली संस्कृतिको सप्तरङ्गी झल्को प्रस्तुत गर्दै एभरेष्ट नेपाल कल्चरल ग्रुप फ्रान्सबाट स्वदेश फर्किएको छ। संस्थापक अध्यक्ष डा. आरसी कोइराला “रामचन्द्र”को नेतृत्वमा गएको सांस्कृतिक टोलीले फ्रान्सको सैंट–मैक्सन शहरमा आयोजित ३८औँ अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेलामा सहभागिता जनाउँदै गौरवमय प्रस्तुति दिएको थियो।

उक्त कार्यक्रममा बागमती बोर्डिङ उच्च माध्यमिक विद्यालय, सुकेधाराका प्रधानाध्यापक श्याम दत्त अधिकारीको संयोजनमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। टोलीमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष डा. कोइरालासँगै सदस्य तथा लालिगुराँस नेसनल एकेडेमीकी उप-प्रधानाध्यापक सुजिता काफ्ले उदास, प्रधानाध्यापक श्याम दत्त अधिकारी र सोही विद्यालयका विद्यार्थीहरू सुरभि अर्याल, कसिश भट्टराई, सदिच्छा महत, आहना कार्की, श्रुतिरानी गिरि, शुभान्जली साप्कोटा, शुभम सम्राट घले, आध्या अधिकारी, आर्नबी गौतम, सम्पदा ओली, आयुश मिश्र, समृद्धि पौड्याल, आयुषा मिश्र र सम्बन्ध सिवाकोटीको सहभागिता रहेको थियो।

मेलामा नेपाली मौलिकता झल्काउने विभिन्न नृत्यहरू मारुनी, कौरा, गर्रा, यति, कुमारी, झ्याउरे तथा थाली नृत्य प्रस्तुत गरिएको थियो। ती नृत्यहरूको निर्देशन सपना महर्जनले गर्नुभएको थियो।

फ्रान्स भ्रमणका सम्पूर्ण व्यवस्थापन एभरेष्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक सीतल आचार्यले संयोजन गर्नुभएको थियो। मेला अवधिभर विद्यार्थीहरूले विभिन्न विद्यालयहरूको अवलोकन गरी शैक्षिक तथा सांस्कृतिक आदान–प्रदान गरेका थिए। यस क्रममा प्रधानाध्यापक श्याम दत्त अधिकारीले भविष्यमा विद्यालय–विद्यालयबीच यस्ता कार्यक्रम विस्तार गर्ने पहल गरिने जानकारी दिनुभएको थियो।

त्यस्तै, समूहका प्रमुख डा. कोइरालाले स्थानीय नगरपालिकाका प्रमुख, आयोजक तथा अन्य महानुभावहरूसँग भेटघाट गर्दै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धनका सम्भावनाबारे चर्चा गर्नुभएको थियो। साथै, सरकारी तथा गैरसरकारी निकायहरूको सहकार्यमा यस्ता कार्यक्रमहरूलाई भविष्यमा अझ विस्तार गर्ने विषयमा पनि जानकारी गराइएको थियो।



सम्बन्धित समाचार