कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं पूर्वाधार विकासको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा सोमबार हुम्लाको सदरमुकाम सिमकोट पुग्नुभएको छ ।

करिब एक साताको स्थलगत अनुगमन यात्रामा रहनुभएका मन्त्री लम्सालले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत, दैलेख, कालीकोट र जुम्लाको अनुगमन सम्पन्न गरी मुगु हुँदै हुम्ला पुग्नुभएको हो ।

यात्राका क्रममा उहाँले कर्णाली राजमार्ग, सहायक सडक, कृषि सडक, पुल, खानेपानी, सिँचाइ आयोजना तथा विद्यालयका भौतिक संरचनाको अनुगमन गर्नुभएको हो ।

सो क्रममा उहाँले सम्बन्धित जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सडक कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, निर्माण व्यवसायी तथा स्थानीय नागरिकसँग छलफल र अन्तरक्रिया गरी स्थानीय आवश्यकता, माग र सुझाव सङ्कलन गरिएको राससलाई बताउनुभयो ।

अनुगमनका क्रममा उहाँले कर्णालीको विकासका लागि सरकारको प्राथमिकताबारे जिज्ञासा राख्नुभएको थियो । “कर्णालीवासीले उठाएका वास्तविक समस्या, आवश्यकता र माग टिपोट गर्ने काम भएको छ । यस क्रममा महत्वपूर्ण सुझाव सङ्कलन भएका छन्”, उहाँले भन्नुभयो ।

स्थानीय बासिन्दाले कर्णाली राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्नुपर्ने, सडक सञ्जाल विस्तार गर्नुपर्ने, पुल निर्माण, खानेपानी, सञ्चार, सिँचाइ तथा विद्यालय भवन निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग राखेका छन् ।

उहाँले कर्णालीका नागरिकका आवश्यकता र पूर्वाधारको वास्तविक अवस्था नजिकबाट बुझेर त्यसको प्राथमिकीकरण गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गर्ने उद्देश्यले स्थलगत अनुगमन गरिएको बताउनुभयो ।

उहाँका स्वकीय सचिव निर्मल ज्ञवालीले बजेट विनियोजन भएका सडक आयोजनाको कार्यप्रगति तथा आवश्यक संशोधनका बारेमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।

यसअघि खारेज गरिएको जुम्लास्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पुनःसञ्चालन गर्ने प्रतिबद्धता मन्त्री लम्सालले व्यक्त गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री लम्सालले मुगुको राराताल, जुम्लाको गुठीचौर क्षेत्र तथा चन्दननाथ मन्दिरको अवलोकन गर्नुभएको थियो ।

मन्त्री लम्सालको सचिवालयका अनुसार कर्णाली राजमार्गको वास्तविक अवस्था प्रत्यक्ष रूपमा बुझेर सडक निर्माणको यथार्थपरक खाका तयार गर्ने उद्देश्यले लम्सालले यात्राका क्रममा अधिकांश दूरी आफैँ सवारी चलाएर स्थलगत निरीक्षण गर्नुभएको हो ।

सम्बन्धित समाचार