नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन।

के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको छ ? आफू ठगिएको थाहा पाएपछि उजुरीको कागजात बोकी वैदेशिक रोजगार विभागमा धाउनुभएको छ वा धाउनुबारे सोच्नुभएको छ ? यदि त्यसो हो भने अब उजुरीका लागि कार्यालय धाउनुपर्ने अवस्था छैन ।
सरकारले अनलाइनमार्फत नै उजुरी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलमार्फत अब घरमै बसेर ठगीसम्बन्धी उजुरी दिन सकिनेभएको छ । अनलाइनमार्फत उजुरी दिने मात्रै होइन, त्यो उजुरीको कारबाही प्रक्रिया कहाँ पुगेको छ भन्ने समेतको विस्तृत जानकारी हातको अनलाइनबाटै थाहा पाइने भएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा ठगीएका श्रमिकहरुको समस्या समाधान गर्न अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको हो ।
यही साउन १ गतेदेखि सुरु भएको उक्त पोर्टलबारे जानकारी लिन श्रममन्त्री रामजी यादव आज वैदेशिक रोजगार विभाग पुग्नु भएको थियो । वैदेशिक रोजगारको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न अनलाइन पोर्टलको सेवा सुरु गरिएको मन्त्री यादवले बताउनुभयो ।
उहाँका अनुसार सरकारले वैदेशिक रोजगारीका नाममा ठग्दै आएका जो सुकैलाई कानुनी दायरामा ल्याउने बताउँदै पीडितलाई यथाशीघ्र न्याय दिन अनलाइन पोर्टल आवश्यक रहेको सुनाउनुभयो ।
मन्त्री यादव विभागमै पुगी पीडित र सेवाग्राहीहरु सँग भेटेर ठगी हुनबाट जोगीन र ठगी गरेका व्यक्ति वा घटनाको विवरण अनलाइन उजुरी गर्न समेत आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘अब ठगी मुद्धा दर्ता गर्न काठमाडाँै धाइरहनु पर्दैन । घरमै बसेर अनलाइन मुद्धा दर्ता गर्ने र मुद्धाको कारवाही प्रक्रिया समेत बुझ्न सहज हुने छ ।”
मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन उजुरी पोर्टलमा पीडितले आफ्नो मोबाइल वा कम्प्युटरबाट पोर्टलमा गई आवश्यक प्रमाणहरू सङ्कलन गरेर उजुरी पेस गर्नुपर्छ ।
पीडितले अनलाइनमार्फत उजुरी पेस गरेपछि विभागको टोलीले त्यसको अध्ययन गरी दर्ता प्रक्रिया अगाडि बढाउनुका साथै उजुरी दर्ता हुनासाथ सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज र इमेलमार्फत जानकारी जाने व्यवस्था समेत मिलाइएको छ ।
उक्त सन्देशमा उपलब्ध गराइएको ‘ट्रयाकिङ कोड’ प्रयोग गरी पीडितले जुनसुकै समयमा आफ्नो उजुरीको अवस्था र प्रगतिबारे जानकारी लिन सक्ने व्यवस्था उक्त प्रणालीमा छ ।
विभागका अनुसार साउन १ गतेदेखि पूर्ण रुपमा लागु भएको उक्त प्रणालीमार्फत चार दिनमा १४ वटा उजुरी दर्ता भएको छ । अनलाइन उजुरी दर्ता गर्ने प्रणालीको प्रयोगमा बानी विस्तार गर्न कर्मचारीले समेत अभ्यास गरिरहुनभएको छ ।
विभागको मुद्धा दर्ता शाखाका एक कर्मचारीले भन्नुभयो, “उजुरीको फाइल बोकेर आउने सेवाग्राहीको पनि यही कार्यालयबाटै अनलाइन उजुरी दर्ता गर्दैआएका छौँ ।” अधिकांश सेवाग्राहीलाई अनलाइन उजुरी प्रणाली छ भन्ने जानकारी नहुँदा कार्यालयमै फाइल बोकेर आउने गरेको उहाँले सुनाउनुभयो ।
विभागमा मंगलबार वैदेशिक रोजगारको प्रलोभनमा परेर ठगीनुभएका वसन्त थापाले अनलाइन उजुरी दिन पाउने व्यवस्था जानकारी नभएको बताउनुभयो ।
उहाँले विभागमा आएपछि मात्रै त्यो व्यवस्थाबारे थाहा पाएको सुनाउनुभयो । यद्यपि आम सर्वसाधारणलाई अनलाइन उजुरी व्यवस्थाबारे पर्याप्त सूचना प्रवाह गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यालय परिसरमा भेटिनुभएका नवलपरासीका रोहित कुर्मीले पनि आफूले छ महिनाअघि ठगीसम्बन्धी उजुरी दिएको उल्लेख गर्दै अनलाइन प्रणालीले सहज हुने अपेक्षा गरेको बताउनुभयो ।
“मैले छ महिनाअघि कार्यालयमा ठगीसम्बन्धी उजुरी दिएको थिए, काठमाडौँ आउनुपर्ने र होटलमा बस्दा ठूलो खर्च हुने गरेको थियो, अनलाइन प्रणाली आएपछि सहज हुने अपेक्षा छ”, उहाँले भन्नुभयो ।
भैरहवाकी बबिता भट्टराईले पनि आफू वैदेशिक रोजगारीसम्बन्धी ठगीमा परेको बताउनुभयो । आफूलाई रोजगारीका लागि क्रोएसिया पठाउँछु भन्दै साथीको दिदीले रु १५ लाख ठगेको उहाँले बताउनुभयो । सोही सम्बन्धमा आफू उजुरीका लागि विभाग आएको बताउँदै अनलाइनबाट मुद्धा प्रक्रिया सुरु हुने जानकारीले राहत महसुुस गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “डिजिटल प्रणालीले अब मेरो मुद्धाको कारबाही प्रक्रिया कहाँसम्म पुगेको छ ? र के भइरहेको छ भन्ने जानकारी घरमै बसेर लिन पाउने भएकी छु ।”

