सुगम सङ्गीतका अमर गायक अरूण थापाको स्मरण

गायक अरूण थापामगर अल्प आयु बाँच्नुभयो । तर, उहाँ आफ्ना गीतहरूमा सधैं अमर हुनुहुन्छ । नेपाली सुगम सङ्गीतका मूर्धन्य प्रतिभा थापामगरको मङ्गलबार २७औँ स्मृति दिवस । विविध तवरबाट उहाँको सम्झना गरियो । नेपाल मगर विद्यार्थी सङ्घ, बागलुङले ‘अरूण स्मृति साँझ’ आयोजना गर्यो । जहाँ अरुणका कालजयी गीतहरू गुन्जिए ।

कलाकारहरूले ‘करोडौँ मुटुहरूको एउटै ढुकढुकी नेपाल’बाट सुरु गरी ‘यो मनको के भर हुन्छ’मा पुगेर आफ्नो प्रस्तुति टुङ्ग्याए । पहिलो गीत सूर्य घताने, किशोर थापा, मीना हमाल ठकुरीलगायतले सुनाए । दोस्रो लहरमा प्रस्तुत भयो, गायक थापामगरले आफ्नो जीवनकालमा गाएको एउटा मात्र भजन ‘तिमी राम राम भजी बाँच’ । जसलाई गायक सूर्य घतानेले गाउनुभयो । उहाँले अरुणका चर्चित गीत ‘चोट के हो व्यथा के हो’, ‘यो मनको के भर हुन्छ’, ‘आँखाको निद खोसी’ लानेलगायत प्रस्तुत गर्नुभयो ।

प्रेम पुनले ‘साँझको जूनसँगै आउँछ्यौ कि भनेर’, किशोर थापाले ऋतुहरूमा तिमी’, ‘दोष कसैलाई दिन चाहन्न’ र ‘तिमी हेर्छौ भने’ गाउनुभयो । प्रेम बुढामगरले ‘जति माया लाए पनि’ र ‘म रोए पनि तिमी हाँसिदिनु’, प्रस्तुत गर्नुभयो । प्रकाश थापामगरले ‘भुलुँभुलुँ लाग्यो मलाई’ र मन्जुल शाक्यले ‘अनौठो व्यथा भएछ’ गाउनुभयो ।

स्मृति साँझमा उहाँका दर्जन बढी चर्चित गीत प्रस्तुत गरिएको थियो । वाद्यवादनमा कलाकार सूर्य घताने, मन्जुल शाक्य, गौतम नाइसा मगर, अभय छन्त्याललगायतले साथ दिनुभयो ।

आफ्ना प्रिय गायकका गीत सुन्दा दर्शक मुग्ध बने । राति अबेरसम्म सङ्गीतमा झुमिरहे । अरूणका गीत गुन्जिरहँदा दर्शकदीर्घामा घरी गहिरो मौनता छाउँथ्यो, घरी वाहीवाही चल्थ्यो । उहाँका गीत युवा पुस्तामाझ बढी लोकप्रिय छन् । अरूणका अधिकांश गीतमा मानवीय संवेदना, प्रेम र वियोगको अभिव्यक्ति पाइन्छ ।

प्रेम र वैवाहिक सम्बन्धको दुःखान्त अन्त्यपछि गायक थापाले ‘जति माया लाए पनि’, ‘चोट के हो व्यथा के हो’जस्ता लोकप्रिय गीत गाउनुभएको थियो । अरुणले विसं २०३४ मा गाएको ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौँ’ बीबीसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा पर्न सफल थियो । नेपाली सुगम सङ्गीतलाई विश्वजगत्मा चिनारी गराउने श्रेय पनि गायक अरुणलाई दिइन्छ । अरुणले आफ्नो जीवनकालमा झण्डै ५० गीत गाउनुभएको छ ।

कार्यक्रममा नेपाल मगर सङ्घका जिल्ला सचिवालय सदस्य सङ्गम घर्तीलेमगरले अरुणको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । उहाँले अरुण थापा जनमानसमा लोकप्रिय गायकका रूपमा स्थापित भए पनि तत्कालीन समयमा राज्यको उपेक्षामा परेको उल्लेख गर्नुभयो । “सुरुको कालखण्ड सुखद् रहे पनि अरुण थापाको जीवन वियोगान्त ढङ्गले टुङ्गिन पुग्यो”, उहाँले भन्नुभयो, “उहाँ जत्तिको गायकलाई राज्यकै तवरबाट सम्मान दिइनुपथ्र्यो तर आज मगर समुदायले मात्र सम्झनुपर्ने विडम्बनापूर्ण अवस्था छ ।”

कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य रेनुका काउचा मगरले अरणका गीत सधँै अमर भएर रहने बताउनुभयो । “उहाँका गीत सदावहार छन्, भौतिक रूपमा हामीबीच नरहे पनि अरुण थापा हाम्रो स्मृतिमा सधैँ जीवित हुनुहुन्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा ख्याली, झ्याउरे, सोरठी, थाली, सालैजो, कौराहालगायत मौलिक गीत तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो । सोही अवसरमा कलाकारहरूलाई सम्मानसमेत गरिएको थियो ।

विसं २००९ माघ ११ गते भारतको कोलकातामा जन्मनुभएका अरुणको २०५६ साल साउन ५ गते काठमाडौँको एक होटलमा देहान्त भएको थियो । जीवनको आखिरीतिर गम्भीर रूपमा अस्वस्थ भई उहाँले मुत्युवरण गर्नुपरेको थियो । उहाँले नेपाली सुगम सङ्गीतलाई थोरै तर कालजयी गीतहरू छोडेर जानुभएको छ । अरुणले २०३२ सालमा रेडियो नेपालमा स्वरपरीक्षा उत्र्तीण गरेपछि आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको सङ्गीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुने ठूलो छ संसार’ बोलको गीत ‘रेकर्ड’ गराउनुभएको थियो ।

यही गीतबाट अरुणको साङ्गीतिकयात्रा सुरु भएको थियो । उहाँको पहिलो गीतले सोचेजति सफलता पाउन सकेन । विसं २०३४ को अन्त्यतिर गाएको ‘ऋतुहरूमा तिमी’ र २०३६ मा सार्वजनिक ‘जति माया लाए पनि’ बोलको गीतले अरुण थापालाई एकाएक चर्चामा ल्याएको थियो । गायक थापाको सम्मानमा स्मृति साँझको आयोजना गरिएको नेपाल मगर विद्यार्थी सङ्घका अध्यक्ष कृष्ण अठारे मगरले बताउनुभयो ।

सम्बन्धित समाचार