नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन।

बाग्मती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ । ती क्षेत्रमा हरित क्षेत्र, खेलमैदान, पदमार्ग (वाकिङ ट्रेल) तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने सरकारको योजना छ ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले हटाइएका बस्ती रहेका स्थानमा स्थायी कङ्क्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुला क्षेत्र विकास गरिने जनाएको छ ।
समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले नदीको प्राकृतिक बहाव संरक्षण, बाढी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक प्रयोगका खुला क्षेत्र विकास गर्ने उद्देश्यले छुट्टै गुरुयोजना तयार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त गुरुयोजना अन्य विद्यमान सहरी योजनासँग तालमेल हुने गरी तयार पारिँदैछ ।
उहाँले भन्नुभयो, “हामी सबै नागरिकको पहुँच हुने खुला सार्वजनिक क्षेत्र निर्माण गर्दैछौँ । यहाँ पदमार्ग, हरित क्षेत्र र खुला मनोरञ्जनस्थल बन्नेछन्, तर स्थायी कङ्क्रिट भवन निर्माण गरिने छैन ।”
महर्जनका अनुसार नदी व्यवस्थापनको उद्देश्य नदीलाई पर्खालभित्र सीमित गर्नु नभई प्राकृतिक बहावका लागि पर्याप्त खुला क्षेत्र सुरक्षित गर्नु हो । अत्यधिक वर्षा वा बाढीका बेला नदी सहज रूपमा फैलिन सक्ने गरी खुला पार्क र हरित क्षेत्र विकास गरिने उहाँले बताउनुभयो ।
समितिका कार्यकारी समिति अध्यक्ष डा आनन्द सिंह भाटले बाग्मतीलाई बाढी नियन्त्रण, सरसफाइ र हरियालीसँग जोडिएको सार्वजनिक खुला क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो । उहाँले भविष्यमा बाग्मती किनारमा हरियाली, खुला खेलमैदान र नागरिकमैत्री वातावरण देख्न पाइने विश्वास व्यक्त गर्नुभयो ।
बल्खु, बंशीघाट, थापाथली, गैरीगाउँ, सिनामङ्गल र शङ्खमूललगायत क्षेत्रमा हटाइएका बस्तीका अधिकांश भग्नावशेष (डेब्रिस) हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ। हटाइएका डेब्रिस र माटोलाई भू–आकृतिअनुसार व्यवस्थित रूपमा मिलाएर प्रयोग गरिएको छ ।
महर्जनका अनुसार बंशीघाट क्षेत्रमा करिब एक मिटर जमिन पुरी घाँसे मैदान (ग्रासल्यान्ड) निर्माणका लागि तयारी गरिएको छ । त्यहाँ खेलकुदका लागि उपयुक्त खुला क्षेत्र विकास गर्नुका साथै वृक्षरोपण गरिनेछ । आगामी दिनमा फुटबल मैदान, ब्याडमिन्टन कोर्टलगायत खेलकुद पूर्वाधार निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
विश्व निकेतन विद्यालय नजिक प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) निर्माण गर्ने योजना रहेको र बंशीघाट क्षेत्रलाई विद्यालयले खेलकुद प्रयोजनका लागि प्रयोग गर्ने समझदारीसमेत भएको समितिले जनाएको छ ।
बल्खु क्षेत्रमा नदीको बहाव क्षेत्र विस्तारलाई प्राथमिकता दिइने भएको छ । हाल करिब ४० मिटर चौडाइमा सीमित नदीलाई निर्धारित ८० मिटर बहाव क्षेत्रसम्म विस्तार गरी बाँकी भागमा हरित क्षेत्र, खुला पार्क तथा सार्वजनिक उपयोगका पूर्वाधार निर्माण गरिने योजना छ ।
शङ्खमूल क्षेत्रमा खुला खेलमैदान तथा खेलकुद केन्द्र विकास गर्ने अवधारणा अघि सारिएको छ । गैरीगाउँ र सिनामंगल क्षेत्रमा हाल पाँचदेखि १० मिटर चौडाइमा रहेको नदीलाई न्यूनतम ३० मिटर चौडा बनाइनेछ । त्यसपछि बाँकी क्षेत्रमा घाँसे मैदान, पार्किङ, प्रतीक्षास्थल, खुला पार्क तथा खेलकुदका संरचना निर्माण गरिने समितिले जनाएको छ ।
थापाथली क्षेत्रमा नदीको बहाव क्षेत्र करिब ६० मिटर पु¥याइनेछ । त्यसपछि करिडोर सडकलाई थापाथली अस्पतालतर्फबाट पुलमुनि हुँदै बंशीघाटसम्म निरन्तर जोड्ने योजना रहेको छ । यस क्रममा सम्पदा र स्मारक क्षेत्रमा असर नपर्ने गरी डिजाइन तयार गरिने समितिले जनाएको छ ।
समितिका अनुसार बल्खुमा रिटेनिङ वाल, नदी किनार व्यवस्थापन र पार्क निर्माणको काम अघि बढाइनेछ । सिनामङ्गल क्षेत्रमा करिडोर सडक, रिभर ट्रेनिङ वाल तथा नदी व्यवस्थापनका आयोजना समानान्तर रूपमा कार्यान्वयन गरिने तयारी छ ।
समितिले गत आर्थिक वर्षमै गुरुयोजनाको प्रस्ताव तयार गरेको थियो। चालु आर्थिक वर्षका लागि नदी व्यवस्थापनका विभिन्न कार्यक्रमअन्तर्गत करिब रु दुई अर्ब बजेट विनियोजन भएको छ ।
सोही बजेटबाट विस्तृत डिजाइन र लागत अनुमान तयार भइरहेको छ। दशैँअघि ठेक्का सम्झौता सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने लक्ष्य रहेको आयोजना निर्देशक महर्जनले बताउनुभयो ।
सहरी विकास मन्त्रालयसँगको सहकार्यमा बहुवर्षीय (एमटीएफ) ढाँचाअन्तर्गत आवश्यक बजेट सुनिश्चित गरी तीन वर्षभित्र योजना कार्यान्वयन गर्ने तयारी गरिएको समितिले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ‘भिजन काठमाडौं–२०४०’ कार्यान्वयन सुरु गर्ने घोषणा गरेको छ । उक्त योजनाअन्तर्गत काठमाडौं उपत्यकाका नदी करिडोरमा पूर्वाधार, पार्क निर्माण, एकीकृत फोहोरमैला व्यवस्थापन, ढलमुक्त नदी अभियान तथा नदी किनारमा हरियाली प्रवद्र्धनका कार्यक्रम अघि बढाइने उल्लेख गरिएको छ ।

