इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण

चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई शुक्रबार जग्गा धनि प्रमाण पत्र (लालपूर्जा) बितरण गरिएको छ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा बितरण गर्नुभएको हो ।

सो अवसरमा उहाँले सबै तिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुम्बासीले जग्गा धनिपत्र पाउने बताउनुभयो । उहाँले ५०० दिनभित्र लालपूर्जा बितरण गरी सक्ने बताउनुभयो ।

यसका लागि स्थानीय तह, जिल्लास्थित भूमि समस्या समाधान समिति, निवेदक सबैको साथ र सहयोग चाहिने बताउनुभयो । सुकुम्बासीका लागि लालपूर्जा बितरण गरिएको यो दोस्रो जिल्ला भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष रहनु भएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै पालिकासँग समन्वय गरेर प्रकृया पुगेकालाई तत्काल लालपूर्जा बितरण गरिने र प्रकृया नपुगेकाको प्रकृया पुरा गर्न लाग्ने बताउनुभयो ।

सबै पालिकामा नाप नक्सा, दर्ता, प्रमाणीकरणलगायतका काम भइरहेको उहाँले बताउनुभयो । जिल्लामा ४२ हजार जनाको निवेदन परेको उहाँको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङ्ले आज जग्गा धनि प्रमाण पत्र पाउनेमा चार घर भूमिहिन दलित र ३० घर भूमिहिन सुकुम्बासी रहेको बताउनुभयो ।

सोही टोलका ३८ घरको लालपूर्जा तयार भएकोमा फोटो टाँस्नुपर्ने जग्गा धनि बाहिर भएकाले उनीहरु आएपछि लालपूर्जा बितरण गरिने बताउनुभयो । गाउँपालिकामा अझै ८० घर भूमिहिन दलित, ७७१ घर भूमिहिन सुकुम्बासी र दुई हजार ९३० अव्यवस्थित बसोबासी रहेका छन् ।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीसहित इच्छाकामनाका सातवटै वडाका वडा अध्यक्षको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार