नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ साउन।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप सुदृढीकरण र प्रभावकारी बनाउन सरोकारवाला निकाय तथा स्थानीय जनतासँग निरन्तर समन्वय र सहकार्य गरी अगाडि बढेको बताउनुभयो ।
उहाँले खुल्ला सीमानाका कारण राष्ट्रिय सुरक्षामा थप चुनौती भएको हुँदा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको जनशक्ति, प्राप्त स्रोतसाधन, प्रचलित कानून, अन्य सुरक्षा निकायसँगको समन्वय र स्थानीय वासिन्दासँग सहकार्य गरी सीमा सुरक्षालाई थप मजबुद बनाउदै लैजाने बताउनुभयो ।
महानिरीक्षक पौडेलले क्रस बोर्डर तथा दशगजा क्षेत्रको रेखदेख, तेस्रो देशका नागरिकको आगमन, अवैध चोरीतस्करी, हातहतियार, लागूऔषध ओसारपसारलगायत अवैध वन्यजन्तु तथा काठ तस्करी नियन्त्रणमा अन्य सुरक्षा निकायको समन्वय र सहकार्य गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रमा २६० वटा बोर्डर आउट पोष्ट स्थापना गरी सीमा क्षेत्रको निगरानी र सुरक्षा गर्दै आइरहेको र भविष्यमा समेत सो बोर्डर आउट पोष्टलाई थप गरी ४२५ वटा बनाउने योजना रहेको बताउनुभयो ।
महानिरीक्षक पौडेलले करिब एक हजार ८८० किलोमिटरको नेपाल–भारत सीमा क्षेत्रमा २४९ बोर्डर आउट पोष्टले मात्र सीमा क्षेत्रको सुरक्षा गर्न कठिनाई परेको जनाउँदै थप जनशक्ति र भौतिक स्रोतसाधन लागि सरकारसँग आवश्यक समन्वय र सहकार्य भइरहेको बताउनुभयो ।
उहाँले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापका साथै आपत् विपद्मा परेका नागरिकको उद्धार र सहयोगमा प्रत्यक्ष सहयोग पुग्ने गरी सशस्त्र प्रहरीले २४सै घण्टा पैदल गस्ती गरिरहेको र यसबाट क्षेत्रका स्थानीय वासिन्दासँग अन्तरक्रिया गरी सीमा अपराध र अवैध क्रियाकलाप रोकथाममा सहज पुगेको बताउनुभयो ।

