
अमेरिका युरोप बस्ने मान्छेहरु ऋण र ब्याजको चक्रव्यूहमा कसरी र कति फसेका छन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ।
अमेरिकामा अहिले कुल क्रेडिट कार्ड ऋण करिब १.३३ ट्रिलियन डलर पुगेको बताइन्छ। कुल जनसंख्यामा भाग लगाउँदा प्रतिव्यक्ति करिब ३,५००–३,६०० डलर जति पर्छ। यदि १८ वर्षभन्दा माथिका वयस्कलाई मात्र आधार मान्ने हो भने यो रकम अझ बढी हुन्छ।
धेरैजसो मानिससँग २, ३ वा ४ भन्दा बढी क्रेडिट कार्ड हुन्छन्। मिड एजका मान्छेको ८,१० हजार त क्रेडिट कार्ड ऋण हुनसक्छ। क्रेडिट कार्डको ब्याजदर प्राय २०–३० प्रतिशतसम्म पुग्न सक्छ। कार्ड प्रयोग गरेर खर्च गर्दा धेरैलाई तत्काल पैसा खर्च भएको अनुभूति नहुने भएकाले आवश्यकताभन्दा बढी खर्च हुने अवस्था पनि देखिन्छ।
क्रेडिट कार्डबाहेक घर, गाडी, फर्निचर तथा अन्य घरायसी सामान पनि अधिकांशले किस्तामै खरिद गरेका हुन्छन्। अहिले यस्ता ऋणमा सामान्यतया ६–१० प्रतिशत वा त्योभन्दा बढी ब्याज तिर्नुपर्छ।
यति मात्र होइन, धेरै विद्यार्थी विश्वविद्यालयको पढाइ सक्दासम्म ठूलो शैक्षिक ऋणमा हुन्छन्। विशेष गरी मेडिकलजस्ता महँगा विषयमा अध्ययन गर्दा लाखौं डलरसम्म ऋण लिनुपर्ने अवस्था आउन सक्छ, जसमा पनि ८/१० प्रतिशत ब्याज लाग्छ।
नेपालबाट धेरैले देख्ने राम्रो व्यवसाय, घर, गाडी, घुमफिर र बाहिरबाट आकर्षक देखिने जीवनशैलीको ठूलो हिस्सा ऋणमै आधारित हुन्छ ।
ऋणको चक्रमा परेपछि नियमित आम्दानी बिना त्यसलाई धान्न कठिन हुन्छ। अझ धेरै मानिसले घर,गाडी र क्रेडिट कार्डको मासिक न्यूनतम किस्ता मात्र तिरिरहेका हुन्छन्। यस्तो अवस्थामा क्रेडिट कार्डको बाँकी रकममा हरेक महिना ब्याज थपिँदै जान्छ। ट्याक्सीको मिटर जस्तै ऋणको ब्याज पनि निरन्तर बढिरहन्छ। किस्ता तिरेको जस्तो देखिए पनि त्यसको ठूलो हिस्सा ब्याजमै खर्च हुन्छ र मूल ऋण घट्न धेरै समय लाग्न सक्छ। सिस्टमले बनाएको मिटर ब्याजको दलदलमा फसेपछि मान्छेलाई निस्कन गाह्रो हुन्छ।
अमेरिका वा युरोपमा बस्ने सबै मानिस सुखी, सम्पन्न र आर्थिक रूपमा निश्चिन्त छन् भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन। त्यहाँ पनि धेरै मानिस ऋण, उच्च जीवनयापन खर्च र आर्थिक दबाबसँग संघर्ष गरिरहेका हुन्छन्। बाहिरबाट देखिने जीवनशैलीले सधैं वास्तविक आर्थिक अवस्था प्रतिबिम्बित गर्दैन।
तेसैले नियमित आम्दानी हुने सानो पेशा व्यवसाय,सानो घरबारी, ऋणमुक्त जिन्दगीनै आनन्ददायक हुन्छ l
