अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन, विकास तथा पुस्तान्तरणलाई कानुनी आधार प्रदान गर्ने बताउनुभएको छ ।

छिन्नतला गीत पुरस्कार गुठीद्वारा शनिबार आयोजित ‘४४औँ छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा उहाँले विधेयकमार्फत विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायका मौलिक परम्परा, ज्ञान, सीप, कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

“विधेयकमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सूचीकरण, समुदायको सहभागिता, सङ्घ, प्रदेश, स्थानीय तहबीच समन्वय, अनुसन्धान, ‘डिजिटल’ अभिलेख तथा संरक्षण कार्यक्रम सञ्चालनका प्रावधान समावेश छन्”, सभामुख अर्यालले भन्नुभयो ।



संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफलका क्रममा रहेको विधेयकमा सांस्कृतिक सम्पदाको व्यावसायिक प्रयोग गर्दा सम्बन्धित समुदायको हित संरक्षण, उल्लङ्घनमा कानुनी कारबाही र दण्ड जरिवानाको व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

“विधेयकले लोपोन्मुख सम्पदाको संरक्षण, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको सुदृढीकरण, युनेस्कोको सूचीकरणको आधार निर्माण तथा सांस्कृतिक पर्यटन सिर्जनाको उद्योग र रोजगारी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ”, सभामुखले भन्नुभयो ।

छिन्नलता गीत पुरस्कार गुठी नेपाली गीतकार तथा स्रष्टा रमोलादेवी शाह ‘छिन्नलता’ को सिर्जनात्मक योगदान र स्मृतिसँग जोडिएको उल्लेख गर्दै उहाँले छिन्नलता गीत पुरस्कारले नेपाली गीत सङ्गीत क्षेत्रमा निरन्तरता, उच्चस्तर र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै आएको धारणा राख्नुभयो ।

सभामुख अर्यालले कलाकार र स्रष्टाको योगदानलाई सम्मान गर्ने वातावरण निर्माण गर्नु राज्य र समाज दुवैको साझा दायित्व भएको बताउनुभयो ।

“नयाँ पुस्तामा नेपाली भाषा, मौलिक संस्कृति, सङ्गीत र सिर्जनाप्रति रुची जगाउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो, “नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासका लागि आवश्यक नीतिगत तथा कानुनी वातावरण निर्माण गर्न प्रतिबद्ध हुनुपर्दछ ।”

समारोहमा सभामुख अर्यालले वरिष्ठ हाँस्यव्यङ्ग कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार डा नवराज लम्साल, सङ्गीतकार किरण कँडेल, गायिका विमला राई र सारिका घिमिरेलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

सम्बन्धित समाचार