माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँ : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति बढाउन प्राङ्गारिक मलको प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका किसानसँगको अन्तरक्रियामा मन्त्री चौधरीले बढ्दो रसायनिक मलको प्रयोगका कारण बर्सेनि माटोको उर्वरा शक्ति ह्रास भइरहेकाले मानव स्वास्थ्य र माटोको बिग्रेको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक र जैविक मलको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

किसानले बर्सेनि उत्पादन बढाउने नाममा अत्यधिक रासायनिक मलको प्रयोग गरिरहेकाले माटोको उर्वरा शक्ति घट्नाका साथै मानव स्वास्थ्यसँगै वातावरणमा नकारात्मक प्रभाव बढ्दै गएको उल्लेख गर्दै मन्त्री चौधरीले विगतमा धान खेतमा पाइने माछा र गँगटो विस्तारै कम हुँदै जानु यसैको प्रभाव भएको जिकिर गर्नुभयो ।

रासायनिक मलको साटो प्राङ्गारिक मललाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले किसानले बर्सेनि भोग्दै आएको सिँचाइ, मल र बीउबिजनको समस्यालाई सरकारले गम्भीरता पूर्वक लिएको बताउनुभयो ।

कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष बबितादेवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी, किसान लगायतका सहभागिता रहेको थियो । सो क्रममा मन्त्री चौधरीले सहकारी संस्थाको स्थलगत अनुगमनसमेत गर्नुभयो ।

सम्बन्धित समाचार