सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप निगरानी र रोकथाम गर्न निर्देशन दिनुभएको छ ।

लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रको आइतबार अवलोकनपश्चात उहाँले सीमा अपराध नियन्त्रण तथा राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्षेत्रमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीले सकारात्मक सोच र फरक कार्यशैली अपनाई पूर्ण जिम्मेवारी र बफादारिताकासाथ काम गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक पौडेलले भन्नुभयो, “असल मनसायका साथ गरिएको कामकारवाहीमा भएको कमीमजोरीको जिम्मा सङ्गठनले लिनेछ ।”

महानिरीक्षक पौडेलले सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढङ्गले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न निर्देशन दिनुभयो ।



उहाँले बाढी, पहिरो र डुबान जस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी तालिम प्राप्त जनशक्तिलाई आवश्यक उद्धारका सामग्रीसहित तयारी अवस्थामा रहन निर्देशन दिनुभएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार