सुनसरी घटनालाई समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी गरिरहनुभएको छ : अर्थमन्त्री डा वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुनसरीको देवानगन्ज घटनालाई समाधान गर्न प्रधानमन्त्री वालेन्द्र शाहले पहलकदमी लिइरहनुभएको जानकारी दिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेद्वारा बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सरकारको तर्फबाट धारणा राख्दै उहाँले सुनसरीमा उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्री गम्भीर हुनुहुन्छ र पहलकदमी लिइरहनुभएको छ भन्नुभयो ।

“सुनसरीमा सामाजिक एकता, सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडितपरिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ”, अर्थमन्त्री डा वाग्लेले भन्नुभयो, “प्रधानमन्त्रीज्यूकै समन्वयमा सरकारले यथेष्ट पहल लिइरहेको छ । प्रयासका काम अहोरात्र भइरहेका छन् । राजनीतिक दलहरूले घटनालाई समाधान गर्न लिएको अग्रसरतालाई सरकारले सकारात्मक रूपमा लिएको छ ।”

अर्थमन्त्री डा वाग्लेले सुनसरी घटनालाई सामान्यीकरण गर्न र सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न सरकारले आवश्यक समन्वयमा प्रयत्न गरिरहेको पनि राजनीतिक दलका शीर्षनेताहरूलाई बैठकमा जानकारी गराउनुभयो । सर्वदलीय बैठकमा उठेका चासो र विषयका बारेमा प्रधानमन्त्रीलाई अवगत गराउने जनाउँदै उहाँले सबैको साझा प्रयत्नमा समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित समाचार