नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह मनोनीत हुनुभएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहनुभएका शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको पार्टी महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) को बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको हो ।
सुनसरीलगायत जिल्लाका पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउनु हुने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टी बैठकले शोकाकुल परिवारजनमा रास्वपाले गहिरो समवेदना प्रकट गरेको छ । साथै घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत बैठकले गरेको छ ।
महामन्त्री आचार्यका अनुसार बैठकमा पार्टीको वडा तहदेखि केन्द्रसम्म सम्पन्न प्रथम ऐतिहासिक महाधिवेशनका बहुआयामिक पक्षहरूमा विस्तृत र निर्मम समीक्षा गरिएको छ ।
लोकतान्त्रिक अभ्यासका क्रममा हरेक तहमा भएका कमी–कमजोरीलाई निसङ्कोच स्वीकार्दै ती अनुभवहरूबाट पाठ सिकेर सिङ्गो पार्टी पङ्क्तिलाई थप परिपक्व र सुदृढ बनाउन सम्पूर्ण प्रक्रियाको बृहत् अध्ययन गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी बैठकले पार्टी विधानको भाग ६ को धारा २३ बमोजिम ‘पार्टी सचिवालय’ गठन गरेको छ । उक्त सचिवालयमा पार्टी सभापतिसहित निर्वाचित पदाधिकारीहरू उपसभापतिद्वय डा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सह–महामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहनुभएको छ ।
बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन र पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन, महिनाको कम्तीमा एक दिन मन्त्रीहरूसँग पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा समसामयिक र बहुआयामिक विषयमा अनिवार्य छलफल गर्ने निर्णय गरेको छ ।
त्यसैगरी आत्महत्या र आत्मदाह सम्बन्धमा सामाजिक सञ्जाल निर्देशिका सामाजिक संवेदनशीलतालाई गम्भीर रूपमा मनन गर्दै पार्टीका हरेक तह र तप्कामा रहेका सदस्यलाई आत्महत्या र आत्मदाहजस्ता दुःखद् घटना, समाचार वा जानकारीहरू आफ्ना कुनै पनि सामाजिक सञ्जालहरूमा सेयर वा सम्प्रेषण नगर्न केन्द्रीय समितिले निर्देशन जारी गरेको छ ।

