नवकान्तिपुर संवाददाता
भद्रपुर (झापा), १४ साउन।

बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार गणेश पोख्रेलको काठको दुईतले घरबाट विद्युत् ‘सर्ट’ हुँदा सल्किएको आगो तारा अर्यालको टिनको छानो भएको एकतले घर र सुन्दर राजवंशीको टिनको छानो भएको एकतले घर पूर्ण रूपमा नष्ट भएका छन् ।
त्यसैगरी, भरत पोख्रेलको एकतले घर र सारदा राजवंशीको दुईतले पक्की घरमा आंशिक क्षति पुगेको छ । दीपेन्द्रकुमार वलीको दुईतले पक्की घरको दोस्रो तलाको झ्यालमा क्षति भएको छ ।
बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल, स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो निभाइएको थियो । क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

