नवकान्तिपुर संवाददाता
जनकपुरधाम, १५ साउन।

जनकपुरधामसहित धनुषाका विभिन्न स्थानमा भइरहेका प्रदर्शनलाई दृष्टिगत गरी सर्पक्षीय सद्भाव समितिले सामाजिक सद्भाव कायम राख्न सबै पक्षबीच समन्वय र सहकार्य गरिने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाको पहलमा शुक्रबार बसेको सर्वपक्षीय सद्भाव समितिको बैठकले सुनसरी घटना पश्चात् धनुषामा उत्पन्न शान्ति, सुरक्षाको अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षबीच आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सबै पक्षबीच समन्वय र सहकार्य गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।
बैठकले जनकपुरधामसहित जिल्लाभर समाजिक सद्भाव, शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सबै धर्म, समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीति दल, सङ्घसंस्था, स्थानीय तहका जनप्रतिनिधि तथा सञ्चारकर्मीले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
साथै नागरिकबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न आवश्यक पहल र सहयोग गर्न सबै सरोकार भएका निकायसँग आग्रह गरिएको छ ।
यस्तै विभिन्न धर्म, जातजाति, भाषाभाषी तथा समुदायबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता प्रवर्द्धनका लागि जनकपुरधाममा सद्भाव र्याली आयोजना गर्ने निर्णय पनि बैठकले गरेको प्रजिअ लुइँटेलले जानकारी दिनुभयो ।
बैठकमा सुरक्षा निकायका प्रमुख, राजनीति दलका प्रतिनिधि, धर्म गुरूहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

