नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ साउन।

बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा, आराधना एवं दर्शन गर्नुभएको छ ।
साउन महिनाको शनिबार पारेर अभिनेत्री शेट्टीले शनिबार बिहान रु दुई हजार १०० दरका नौ वटा रसिद काटेर पञ्चामृत पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले राससलाई जानकारी दिनुभयो ।
अभिनेत्री शेट्टी दर्शनार्थीका रूपमा आज बिहान पशुपतिनाथ दर्शन एवं पूजा आराधनाका लागि प्रवेश गर्नुभएको उहाँले बताउनुभयो । “साउन महिना भगवान् शिवको महिना भएकाले विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बी पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने गर्छन् । त्यसमध्ये भारतबाट आउने दर्शनार्थी धेरै हुन्छन्”, उहाँले भन्नुभयो ।
भारतबाट साउनमा विशिष्ट व्यक्तित्व पनि पशुपतिनाथमा दर्शनका साथै पूजा, आराधना गर्न आउने गरेका छन् ।
