दोस्रो राष्ट्रिय कोदो दिवस, कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

कोदो बालीको संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन भन्ने मूल नाराका साथ ‘दोस्रो राष्ट्रिय कोदो दिवस २०८३’ कर्णालीमा पनि भव्यताका साथ सम्पन्न गरिएको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा विभिन्न साझेदार सङ्घसंस्थाहरूको सहकार्यमा शनिबार सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न दिवसका वक्ताहरूले कोदोप्रतिको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिइएको छ ।

उक्त अवसरमा मन्त्रालयका सचिव सञ्जीवकुमार कर्णले हाम्रो मौलिक पहिचान र औषधीय गुण बोकेको कोदोलाई गरिबको खानाका रूपमा हेर्ने गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोदो केवल गरिबले खाने खाना होइन, यो खाद्य तथा पोषण सुरक्षा सुरक्षित गर्ने महत्त्वपूर्ण बालीको हो । यसप्रति हेर्ने दृष्टिकोण बदल्न जरुरी छ । बरु यसको संरक्षण अपरिहार्य छ ।”

कर्णालीलाई प्राङ्गारिक प्रदेशका रूपमा विकास गर्ने सरकारको अभियानमा कोदो र रैथाने बालीको उत्पादन वृद्धिले ठूलो सहयोग पुर्याउने सचिव कर्णले जिकिर गर्नुभयो ।

मन्त्रालयका बाली विकास अधिकृत विमला कुमारी खनालले कोदोको उत्पत्ति, उत्पादन र उपभोगका बारेमा दिवसकै अवसरमा यसको प्रवर्द्धन, चुनौती र भावी कार्यदिशासम्बन्धी प्राविधिक सत्र तथा कार्यपत्र प्रस्तुतिकरणसमेत गरिएको बताउनुभयो । कर्णालीमा रैथाने बाली कोदोको मौलिक पहिचान, व्यावसायिक विकास र उपभोग बढाउन कार्यक्रमबाट टेवा पुग्ने उहाँले बताउनुभयो ।

प्रदर्शनीमा राखिएका कक्षहरूमा २० भन्दा बढी प्रकारका कोदोका स्वादिला र पौष्टिक परिकारहरू राखिएका थिए । स्टलमा कोदोको सेलरोटी, ढिँडो, मःम, केक र बिस्कुटलगायतका आधुनिक र परम्परागत परिकार प्रदर्शन गरिएको थियो ।

कर्णाली प्रदेश अग्र्यानिक क्षेत्रका उद्यम गर्दै आएका उद्यमी कमल नेपालीले कोदोबाट करिब दुई दर्जनभन्दा बढी प्रकारका स्वादिष्ट परिकार बनाउन सकिने बताउनुभयो । कोदोको व्यावसायिक विविधिकरण गरेर बजारमा लैजान सके युवाहरूका लागि स्वरोजगारको ठूलो अवसर सृजना हुने र कर्णालीको अर्थतन्त्रमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो ।

प्रदर्शनीमा कोदोको परम्परागत ढिँडोदेखि आधुनिक केकलगायत विभिन्न परिकार बनाएर राखिएको छ ।

सम्बन्धित समाचार