नवकान्तिपुर संवाददाता
गण्डकी, १७ साउन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पोखरालाई अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकारले सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभएको छ ।
पोखराको पर्यटन प्रवर्द्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा पोखरा महानगरपालिकाद्वारा आइतबार पोखरामा आयोजित छलफलमा उहाँले पोखरासँग जोडिएका प्रमुख सडक सञ्जालको सुधार गर्दै पर्यटकको सहज आवागमन सुनिश्चित गरिने बताउनुभयो ।
पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालसँग जोड्न मन्त्रालयले विशेष पहल गरिरहेको मन्त्री पौडेलले बताउनुभयो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगका लागि नियमित अन्तरदेशीय उडान हुनुपर्ने उहाँको भनाइ छ ।
मन्त्री पौडेलले पोखरा तालतलैया र नदीनालाको सहर भएकाले जलसम्पदामा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरामा स्वामीनारायण र ऋषि वात्सायनको मन्दिर निर्माणका लागि सरकारले बजेट सुनिश्चित गरिसकेको बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विकास साझेदारहरूसँगको सहकार्यमा केही महत्त्वपूर्ण पर्यटन पूर्वाधार निर्माण सम्पन्न भइसकेका जनाउँदै दीर्घकालीन महत्वका अन्य पूर्वाधारहरू निर्माणको क्रममा रहेका बताउनुभयो ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन विभिन्न गतिविधि सञ्चालन गरिएको उहाँको भनाइ छ ।
“प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको विकासमार्फत पोखरालाई अन्तरराष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित महानगर निरन्तर क्रियाशील रहेको छ”, प्रमुख आचार्यले भन्नुभयो ।
कार्यक्रममा पर्यटन क्षेत्रको दिगो विकास, पूर्वाधार विस्तार, हवाई पहुँच अभिवृद्धि तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
छलफलमा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलगायतको सहभागिता थियो ।

