सरकारका राम्रा काम संसद्मा उठाउने रास्वपा सांसदहरूको प्रतिबद्धता

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सरकारले गरेका राम्रा कामबारे संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरूले सरकारले सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको प्रशंसा गर्दै सरकारका राम्रा कामबारे जनतालाई सुसूचित गराउने उद्देश्यले संसद्मामार्फत जनतालाई जानकारी गराउने उल्लेख गर्नुभयो । छलफलमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषय पनि प्रधानमन्त्रीसमक्ष राख्नुभएको थियो ।

कैलाली–४ का सांसद खेमराज कोइरालाले प्रधानमन्त्रीले आफ्ना भनाइ सहज रूपमा ग्रहण गर्नुभएको उल्लेख गर्नुभयो । “मैले गेटा विश्वविद्यालय सञ्चालनका सम्बन्धमा कुरा राखेँ । त्यसबाहेक कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपायाको समस्या समाधानका लागि पनि कुरा राखेको छु,” उहाँले भन्नुभयो, “धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक र विद्युतीकरणका विषय पनि उठाएका छौँ, हामीले राखेका विषयमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।”

कैलाली–२ का सांसद केपी खनालले कैलालीको चिसापानीदेखि महेन्द्रनगरसम्म छाडा चौपायाको व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण, गेटा विश्वविद्यालयमा ३०० शय्याको अस्पताल व्यवस्थापन तथा पार्टीका गतिविधिका विषयमा प्रधानमन्त्रीसमक्ष कुरा राखेको र प्रधानमन्त्री समस्या समाधानप्रति सकारात्मक रहनुभएको बताउनुभयो ।

बैतडीका सांसद हरिमोहन भण्डारीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना तथा अन्य स्थानीय समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो ।

कञ्चनपुर–१ का सांसद जगतसिंह धामीले सीमा व्यवस्थापन, भन्सारका समस्या, आरक्षपीडितका समस्या, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्री तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटानका विषय प्रधानमन्त्री समक्ष राख्नुभयो ।

त्यस अवसरमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित समाचार