नवकान्तिपुर संवाददाता
बागलुङ, २५ साउन।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बागलुङको ढोरपाटन पुग्ने पर्यटकको यात्रा सहज बनाउन सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
बुर्तिबाङ–ढोरपाटन सडकको स्थलगत अनुगमनपछि मन्त्री लम्सालले ढोरपाटन पुग्ने पर्यटकलाई स्तरीय सडकमार्फत स्वागत गर्ने वातावरण सरकारले निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो सडकको अवस्था र निर्माणमा देखिएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यका साथ मन्त्री लम्साल ढोरपाटन पुग्नुभएको हो । उहाँले आज बुर्तिबाङ–ढोरपाटन सडकको स्थलगत अनुगमन गरी फर्किनुभएको सांसद शोभा शर्माले जानकारी दिनुभयो ।
“फल्नेघर क्षेत्रमा हालै स्तरोन्नति गरिएको सडकमा पहिरो गएका कारण समस्या देखिएको र ठाउँठाउँमा पहिरो खस्दा जटिलता उत्पन्न भएको पाइयो”, मन्त्री लम्सालले भन्नुभयो, “वर्षामा पहिरो पन्छाउनेलगायतका काम आयोजना र नगरपालिकाले मिलेर गर्नेछन् । ढोरपाटन पुग्ने सडक स्तरोन्नतिसँगै कालोपत्रका लागि छिट्टै ठेक्का लाग्छ, सरकारले बजेटको व्यवस्था गरेको छ ।”
सालझण्डी–ढोरपाटन सडक निर्माणमा ढिलाइ हुनुमा ठेकेदारको कमजोरी रहेको उल्लेख गर्दै मन्त्री लम्सालले ठेक्का लागेका क्षेत्रमा छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले ठेक्का नलागेका क्षेत्रमा तत्काल ठेक्का प्रक्रिया अघि बढाउन आयोजनालाई आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा मन्त्री लम्सालले बुर्तिबाङ बजारका स्थानीयसँग छलफलसमेत गर्नुभएको थियो । स्थानीयले बुर्तिबाङ बजारमा देखिएको खानेपानीको समस्या समाधान तथा बुर्तिबाङ प्रादेशिक अस्पतालको सेवा विस्तारमा सहयोग गर्न मन्त्रीसमक्ष माग गरेका थिए ।
स्थानीयका समस्या तथा गुनासा सुनेपछि मन्त्री लम्सालले बुर्तिबाङ बजारको खानेपानी तथा प्रादेशिक अस्पतालको समस्याबारे आफू अवगत भएको बताउनुभयो ।
“सरकारले क्रमशः जनताका समस्या प्राथमिकताका आधारमा समाधान गर्छ”, उहाँले भन्नुभयो, “समस्या पहिचान गर्न सकेमा मात्र समाधान गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।”
राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा रहेको सालझन्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्नेघर खण्डमा २२ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । सडक चौडा बनाएर ग्राभेल गरिए पनि कालोपत्र नभएका कारण वर्षायाममा सडक हिलाम्मे हुँदा सवारीसाधन फस्ने समस्या देखिएको छ ।
रु २५ करोड ६१ लाख ३१ हजार १६६ को लागतमा उक्त सडकखण्ड स्तरोन्नति भइरहेको हो । रुपन्देहीको सालझन्डीबाट सुरु भएको उक्त सडक अर्घाखाँचीको सन्धिखर्क, पाल्पा र गुल्मी हुँदै बागलुङको ढोरपाटनसम्म पुगेको छ । सडक निर्माणमा भइरहेको ढिलाइको अवस्था बुझ्न मन्त्री लम्साल पाल्पा हुँदै बागलुङ आउनुभएको हो ।
