पर्यटनमन्त्री पौडेलद्वारा दिवङ्गत आरोहीप्रति श्रद्धाञ्जली

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले पाकिस्तानको ‘ब्रोड पिक’ मा हिमपहिरोमा परी ज्यान गुमाउनुभएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

गत साउन १४ गते हिमपहिरोमा परी ज्यान गुमाउनुभएका आरोही किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको पार्थिव शरिरमा बिहीबार माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

उहाँले आरोहीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव राजेन्द्र लामाले राससलाई जानकारी दिनुभयो ।

यही साउन २६ गते पाकिस्तानबाट नेपाल ल्याइएको शवमध्ये दोलखाका ग्यालु शेर्पा र सङ्खुवासभाका निमा शेर्पाको शव बौद्धस्थित शेर्पा गुम्बामा र दोलखाको रोल्वालिङका किली पेम्बा शेर्पाको शव आफ्नै घरमा राखेर बौद्ध परम्पराअनुसार पुजा गरिएको छ ।

ग्यालु शेर्पा र निमा शेर्पाको आजै अन्त्येष्टि गरिएको छ भने किली पेम्बा शेर्पाको शुक्रबार अन्त्येष्टि गरिने महासचिव लामाले बताउनुभयो । हिमपहिरोमा ज्यान गुमाउनुभएका गोरखाका पुरबहादुर गुरुङ ‘युक्ता’को भने साउन २१ गते नै अन्त्येष्टि गरिएको थियो ।

सोही हिमपहिरोमा ज्यान गुमाउनुभएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ को शव भने बेलायत लगिएको छ । उहाँको परिवार बेलायतमै रहेकाले शव बेलायत लगिएको हो ।

दुर्घटनास्थलबाट अझै एक नेपाली आरोहीको शव ल्याउन बाँकी रहेको छ । उक्त दुर्घटनामा ६ नेपालीसहित १० आरोहीले ज्यान गुमाएका थिए ।

सम्बन्धित समाचार