हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

विशेष अदालतले हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक रोहित गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले बिहीबार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो ।

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँगै भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको कसुरमा प्रतिवादी बनाइएका गुप्ता बिहीबार विशेष अदालतमा उपस्थित भएका थिए ।

गुप्ताले गैरकानुनी रूपमा आफ्नो टिएमएस खाता ब्रोकर नम्बर ५५ मा नरहँदा नरहँदै रू ५२ करोड ५० लाख सेयर बजारमा लगानी गर्न भनी उपलब्ध गराएको र हिमालयन रि–इन्स्योरेन्स कम्पनीबाट रू दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० सो ब्रोकर कम्पनीमा पठाई उक्त ब्रोकर कम्पनीबाट दीपक भट्टलगायतका नाममा सेयर खरिद गर्ने गराउने कार्य गरेको आरोप थियोे ।

अदालतले यसअघि नै दीपक भट्ट, सुलभ अग्रवाल र शङ्कर अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ ।

सम्बन्धित समाचार