साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ । पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको गोरक्षतालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज साइक्लिङ आयोजना गरेको हो ।

साइक्लिङका माध्यमबाट हेटौँडासहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवर्द्धन गरिरहेको सोसाइटीले गोरक्षतालको प्रचारप्रसार गर्र्ने उद्देश्यले आज साइक्लिङको आयोजना गरिएको सोसाइटीका अध्यक्ष राजुु थापामगरले जानकारी दिनुभयो । हेटौँडा बजारबाट चतरा जाने मुख्य सडक हुँदै करिब २० किलोमिटर पूर्वमा यो ताल अवस्थित छ ।

सुरुमा यहाँ सानो खोल्सोबाट पानी बग्ने गरेकामा २०६० सालमा स्थानीयवासीको पहल तथा जिल्ला विकास समितिको सहयोगमा हरना फाँटमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले बाँध निर्माण गरी पानी जम्मा गरिएपछि यो ताल निर्माण भएको हो ।

विसं २०७० मा यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ गोरक्षताल संरक्षण समिति गठन गर्दै यहाँको पर्यटकीय विकासको पहल थालिएको थियो ।

तालको परिसरमा फूलहरूको सुगन्ध, चराचुरुङ्गीको चिरविराहट तथा शान्त प्राकृतिक वातावरणको आनन्द यहाँका विशिष्टता हुुुन् । तालको प्रचारप्रसारसहित पर्यटन प्रवर्द्धनको उद्देश्यसहित सोसाइटीले आज यस क्षेत्रको प्रवर्द्धनात्मक भ्रमण गरेको अध्यक्ष थापामगरले जानकारी दिनुुभयो ।

साइक्लिङका माध्यमबाट हेटौँडामा पाँच वर्षयता औपचारिक रूपमा सङ्गठित भइरहेको सोसाइटीले स्वास्थ्य, पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा जोड दिँदै आएको उहाँले बताउनुुभयो ।

संस्थाले यसबीचमा हेटौँडा उपमहानगरपालिका-१७ हटिया जुरेथुमस्थित एसियाकै अग्लो मानिने ४२ फिट अग्लो कृष्णमूर्ति, ऐतिहासिक मकवानपुर गढी, गोरखा दरबार, रसुुवागढी, केरुङ, ठोरी, गढीमाई मन्दिर, धरानको चतराधाम, चितवनको सोमेश्वरगढीलगायत धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिसकेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार