भोटेकोशी बाढी : पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका शवमध्ये आज तीन जनाको पहिचान भएको छ । पहिचान भएकामध्ये एक जनाको शव आफन्तलाई बुझाइएको छ ।

नवलपरासीको सुस्ता गाउँपालिका–१ निवासी ३७ वर्षीय यादव भण्डारीको शव पहिचान भएको छ । रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा कार्यरत अधिकृत भण्डारीको शव उहाँका दाजु चुडामणि भण्डारीले पहिचान गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

यसैगरी, नवलपरासीको देवचुली क्षेत्रमा फेला परेर प्रतिष्ठान ल्याइएको शव अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ निवासी ४७ वर्षीय नारायण थापाको रहेको पहिचान भएको छ ।

उहाँ रसुवाको बेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्यापनरत रहेको जनाइएको छ । उहाँको शव श्रीमती कमला थापाले पहिचान गर्नुभएको प्रशासनले जनाएको छ ।

त्यसैगरी, धादिङ जिल्लामा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको शवमध्ये भक्तपुर नगरपालिका–९ निवासी ३६ वर्षीय सत्यसुन्दर प्रजापतिको शव पहिचान भएको छ । उहाँको शव भाइ सत्यकृष्ण प्रजापतिले पहिचान गरेपछि आफन्तलाई हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि धादिङ, गोरखा, तनहुँ र नवलपरासीस्थित त्रिशूली तथा नारायणी नदी किनारमा फेला परेका १०२ शव परीक्षणका लागि पोखरा ल्याइएको थियो । फेला परेका शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया निरन्तर जारी रहेको प्रशासनले जनाएको छ ।

शुक्रबार साँझसम्म ५७ शवको औँठाछाप परीक्षण (फिङ्गरप्रिन्ट) तथा सरसफाइ गरिएको छ भने ११ शवको पोस्टमार्टम सम्पन्न भएको बताइएको छ । शवहरूको पहिचानकार्य पनि निरन्तर भइरहेको सहायक प्रजिअ बरालले जानकारी दिनुभयो ।

बाढीपछि विभिन्न स्थानमा भेटिएका शव यहाँ ल्याइएपछि सम्पर्कविहीन व्यक्तिका आफन्त तथा परिवारजन पहिचानका लागि पोखरा आएका छन् । उनीहरुलाई यहीँ निःशुल्क खानेबस्ने प्रवन्ध गरिएको प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार