नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ।

भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रुपमा अवरुद्ध भएको छ ।
त्यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ ।
मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध छ । त्यसैगरी ओखलढुङ्गास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ र ७ लाई जोड्ने सडक पनि अवरुद्ध छ ।
त्यसैगरी लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँशीसहर मनाङ सडक पनि पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
