नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोखराका विभिन्न सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले सहयोग रकम जुटाउन थालेका छन् ।
यहाँका विभिन्न सङ्घसंस्था, व्यवसायी तथा व्यक्तिले आफ्नोतर्फबाट सहयोग घोषणा तथा प्रदान गर्न थालेका हुन् । नेलम्बो नेपालले आइतबार प्रभावितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख ५५ हजार ५५५ जम्मा गरेको छ ।
यसैगरी, गण्डकी प्रज्ञा प्रतिष्ठानले कोषमा रु दुई लाख १६ हजार १५० सहयोग गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठका अनुसार प्रतिष्ठानको तर्फबाट रु एक लाख तथा प्राज्ञहरूबाट रु एक लाख १६ हजार १५० सङ्कलन गरी कोषमा जम्मा गरिनेछ ।
यहाँस्थित स्क्वायर्स मोटर्सले विपद् प्रभावितहरुका लागि रु तीन लाख पाँच हजार ५५५ कोषमा जम्मा गरेको छ । इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ ले भोटेकोशी बाढी प्रभावितका लागि रु एक लाख सहयोग गरेको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ७५ हजार सहयोग गर्ने निर्णय गरेको छ । पोखराका व्यवसायी तथा सिटीजन फर्निचरले उद्धार कोषमा रु एक लाख ११ हजार १११ सहयोग गरेको छ ।
भूतपूर्व खेलाडी मञ्च नेपालले पनि बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० हजार सहयोग गर्ने जनाएको छ ।
