
भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि धनुषाको मिथिला नगरपालिकाले रु ४१ लाख सहयोग गरेको छ ।
नगरपालिकाले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ । विपद्को घडीमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाभित्र कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालयका कर्मचारीबाट सहयोग सङ्कलन गरिएको नगर प्रमुख महेन्द्र महतोले जानकारी दिनुभयो ।
नगरपालिकाका अनुसार नगर प्रमुखबाट रु ५१ हजार १५१, नगर उपप्रमुखबाट रु १२ हजार तथा जनप्रतिनिधिबाट रु तीन लाख ३३ हजार १६५ सहयोग गरिएको छ ।
त्यस्तै स्थानीय तह विपद् व्यवस्थापन कोषबाट रु ११ लाख उपलब्ध गराइएको छ ।
जनकपुरधाममा उठ्यो १५ लाख ५५ हजार
यसैगरी, बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि जनकपुरधामबाट आर्थिक तथा भौतिक सहयोग जुट्ने क्रम बढेको छ । विभिन्न व्यवसायी, सङ्घसंस्था, शैक्षिक संस्था तथा स्थानीय समुदायले रु १५ लाख ५५ हजार ७३२ आर्थिक सहयोग गरेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले बाढीपीडितका लागि रु आठ लाख ५१ हजार सहयोग गर्नुभएको छ । त्यसैगरी, नेपाल औषधि व्यवसायी सङ्घ धनुषाले रु चार लाख १११, जनकपुरधाम–६ का मस्जिद तथा मदर्सा कमिटीका पदाधिकारी, सदस्य तथा मुस्लिम युवाले रु एक लाख ९३ हजार ५१० र जानकी बोर्डिङ स्कुलले रु एक लाख ११ हजार १११ सहयोग गरेको छ ।
जनकपुरधाममा प्रभावित परिवारका लागि ठूलो परिमाणमा जुत्ता–चप्पल, लत्ताकपडा, खाद्यान्न, सरसफाइका सामग्री तथा भान्साका सामान सङ्कलन भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका सचिव निरजविक्रम साहका अनुसार विभिन्न व्यवसायी तथा सङ्घसंस्थाले उपलब्ध गराएको सामग्री प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ ।
तनहुँ उद्योग वाणिज्य सङ्घको एक लाख ५६ हजार सहयोग
त्यस्तै तनहुँ उद्योग वाणिज्य सङ्घले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु एक लाख ५६ हजार १५६ आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सङ्घले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पविन्द्रकुमार श्रेष्ठमार्फत उक्त रकम हस्तान्तरण गरेको अध्यक्ष इमकुमार मल्लले जानकारी दिनुभयो ।
कचनकवल गाउँपालिकाद्वारा २९ लाख सहयोग
यस्तै झापाको कचनकवल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २९ लाख छ हजार १०० सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलका अनुसार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक एवं कर्मचारीका तर्फबाट सो रकम एकमुष्ट रूपमा कोषमा दाखिला गर्न लागिएको हो ।
विपद् व्यवस्थापन कोषबाट रु एक लाख, जनप्रतिनिधिका तर्फबाट रु ७१ हजार, गाउँपालिका कर्मचारीका तर्फबाट रु नौ लाख २२ हजार ५२४ र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको रु १८ लाख १२ हजार ५६७ गरी कुल रु २९ लाख छ हजार एक सय उपलब्ध गराउने निर्णय भएको छ ।
हेटौँडाका शैक्षिक संस्थाबाट रु ३२ लाख सहयोग
यता मकवानपुरको हेटौँडाका पाँच शैक्षिक संस्थाले रु ३२ लाख पाँच हजार सहयोग गरेका छन् ।
हेटौँडा स्कुल अफ म्यानेजमेन्टले रु २० लाख, नवोदय शिशु सदनले रु छ लाख ५० हजार, नारायणी कलेजले रु दुई लाख, सोलिड्यारिटी इन्टरनेसनल एकेडेमीले रु दुई लाख र तुलसीमेहर मेमोरियल स्कुलले रु एक लाख ५५ हजार सहयोग गरेका हुन् ।
हेटौँडा स्कुल अफ म्यानेजमेन्टका तर्फबाट रु १५ लाख र त्यहाँका प्राध्यापक तथा कर्मचारीका तर्फबाट रु पाँच लाख गरी रु २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
नवोदय शिशु सदनका तर्फबाट रु पाँच लाख तथा शिक्षक र कर्मचारीका तर्फबाट रु एक लाख ५० हजार गरी रु छ लाख ५० हजार उक्त कोषमा जम्मा गरिएको हो ।

