नवकान्तिपुर संवाददाता
बनेपा (काभ्रे), २७ भदौ।

चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित बनेपाका नेवार समुदायले मनाउने गुँला पर्व आज सम्पन्न हुँदैछ । पर्वका अवसरमा मौलिक बाजागाजासहित भोज (पारु भ्वय्) खाने तथा विभिन्न धार्मिक गतिविधि गर्ने परम्परा छ ।
गुँला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजाआराधना गरी एकमहिने व्रत समापन गरिन्छ । गुँला धर्म नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । विशेषगरी काठमाडौँ उपत्यकाका बौद्ध नेवार समुदायले विशेष महत्वका साथ यो पर्व मनाउँछन् ।
यो पर्वमा मौलिक बाजा बजाउँदै हाकुपटासी पहिरेका महिलाले बौद्ध चैत्य, इष्टदेवता, गणेश, भीमसेन, भैरवलगायत देवीदेवताका मन्दिरको परिक्रमा तथा दर्शन गर्ने परम्परा छ ।
पर्वमा विशेषगरी नौ बाजा बजाउने चलन छ । पास्त, धां, धोलक, पछिमा, धिमेचा, नगरा, नायखि, कोंचा खिं र डवडवचालगायतका बाजासँगै भुस्या, मुहाली, सिछ्या, बौचा, टिं, धुलु, चतिचा र पोङ्गाललगायतका सहायक बाजा बजाइन्छन् । गुँला पर्वमा बजाइने भएकाले यी वाद्ययन्त्रलाई गुँला बाजा भन्ने गरिन्छ ।
बनेपामा वाँख्यो दाफा भजन खलले गुँला अवधिभर दाफा भजन, धा, ताः, बाँसुरीलगायतका परम्परागत बाजाको धुनसँगै धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
बनेपाका मानन्धर समुदायमा गुँला महिनाभर चोखोनीति पालना गर्दै विशेष प्रकारको व्रत बस्ने परम्परा रहेको वाँख्यो दाफा भजन खलका अध्यक्ष रमेश काजी मानन्धरले बताउनुभयो । यस अवधिमा एक छाक मात्र भोजन गर्ने चलन छ ।
गुँला धर्म धार्मिक आस्थासँग मात्र जोडिएको पर्व नभई नेवार समुदायको मौलिक सङ्गीत, बाजा, भजन, कला, संस्कृति र पुस्तौँदेखिको परम्परा संरक्षण गर्ने महत्वपूर्ण माध्यम पनि हो । लोपोन्मुख मौलिक बाजा तथा दाफा भजन संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउनु पर्वको उद्देश्य भएको अध्यक्ष मानन्धरले बताउनुभयो ।
यही पर्वमा नयाँ पुस्तालाई परम्परागत बाजा बजाउने, दाफा भजन गाउने तथा चैत्य परिक्रमाको संस्कारमा सहभागी गराइन्छ ।

