नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ।

पछिल्ला दिनमा मायाप्रेम, द्वन्द्व, सुशदुःख समेटिएको सामाजिक कथामा आधारित चलचित्रलाई दर्शकले रुचाएको देखिएको छ ।
हरितालिका तीज पर्व सरु भएको, वडादसैँ, दीपावलीजस्ता ठूला चाडपर्व आउनै लागेको र समग्रमा मुलुक चाडपर्वमय भएको विद्यमान अवस्थामा सामाजिक कथामा आधिारित चलचित्रलाई दशर्कले रुचाएको देखिन्छ ।
यसैबीच, गत शुक्रबारदेखि सुरु भएको प्रेम कहानीमा आधारित बेहुली चलचित्रले हरितालिका तीजको दिन मात्र रु ७०–८० लाख ‘ग्रस’ व्यापार गरेको वितरक गोविन्द शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबार देशभरका सिनेमा हलहरूमा करिब १५० ‘शो’ पाएको थियो । अधिकांश हलहरू भरिभराउ भएका र दर्शकदीर्घाबाट उत्साहजनक रूपमा साथ पाइएको छ ।
सो चलचित्रका मुख्य कलाकारहरू पारसबम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ तथा निर्देशक शशान कँडेललगायतको टोली बजार प्रबर्द्धनका क्रममा आज चितवन पुगेको र सो टोलीले क्रमशः देशव्यापी भ्रमण गर्ने कार्यक्रम रहेको निर्माता अर्जुन पोखरेलले जानकारी दिनुभयो ।
नेपाली समाजभित्रको यथार्थ भावना, युवा–युवतीको मनोभाव र पारिवारिक मर्मस्पर्शी कथावस्तुमा आधारित सो चलचित्रलाई माधव शर्माले लेखन तथा शशान कँडेलले निर्देशन गर्नुभएको हो ।
यस्तै, शुक्रबारदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र ‘पेन्सन पट्टा’ लाई पनि दर्शकको राम्रो साथ मिलिरहेको निर्देशक माओत्से गुरुङले बताउनुभयो । उहाँका अनुसार तीजको दिन चलचित्रले अपेक्षाकृत व्यापार गरिरहेको छ र दर्शकबाट राम्रो पृष्टपोषण प्राप्त गरिरहेको छ । चलचित्रकर्मी दयाहाङ राईको प्रमुख अभिनय रहेको सो चलिचत्रमा सुनिल थापा, बुद्धि तामाङ, विल्सनविक्रम राईलगायतले अभिनय गर्नुभएको छ ।
डा कपिल रिजालको ‘गौँथली’ चलचित्र सार्वजनिक भएको धेरै दिन भएपनि दर्शकका साथ रहेको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । तुलनात्मकरूपमा राम्रो कमाइ रहेको सो चलचित्रमा अरुण क्षेत्री, सिमरन खड्कालगायतले अभिनय गर्नुभएको छ ।
