नवकान्तिपुर संवाददाता
काठमाडौँ, १ असोज l

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यस्तै, आजै विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
