बाढी प्रभावितका लागि १३ लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले हिमालय एयरलाइन्समा कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १३ लाख सहयोग गरेका छन् ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।

एयरलाइन्सका अनुसार कर्मचारीले स्वेच्छिक रूपमा रु १४ लाख ७० हजार ६६६ रकम सङ्कलन गरेको र सो रकममध्ये १० प्रतिशत रकम विपद्बाट प्रत्यक्ष प्रभावित हिमालयका कर्मचारीको परिवारलाई प्रत्यक्ष सहयोगस्वरूप उपलब्ध गराइएको छ भने बाँकी रु १३ लाख २० हजार ६६६ नेपालमा हालैको बाढीबाट प्रभावित पीडितहरूको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले बाढी प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीकातर्फबाट सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उल्लेख गर्नुभयो ।

सम्बन्धित समाचार