नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असोज ।

संविधान दिवसको अवसरमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले संविधान दिवस केवल औपचारिकतामा मात्र सीमित नगरी सीमान्तकृत वर्गले समेत महसुस गर्ने हुनु पर्ने भन्दै संविधानको मर्म परिणाममुखी हुनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल एक्समार्फत् संविधानले परिलक्षित गरेका लक्ष्यहरू कति हासिल हुन सके र अबको गन्तव्य के हुनुपर्छ ? भन्नेबारे गम्भीर राष्ट्रिय विश्लेषण, समीक्षा र सिंहावलोकन गर्नु अपरिहार्य बनेको जनाउनु भएको छ ।
वरिष्ठ नेता केसीले सञ्जालमा लेख्नुभएको छ–
नेपालको संविधान (२०७२) जारी भएको यस ऐतिहासिक अवसरमा औपचारिक उत्सवमा मात्र सीमित नरही गम्भीर आत्मसमीक्षाका साथ संविधानले परिलक्षित गरेका लक्ष्यहरू कत्तिको हासिल हुन सके र अबको गन्तव्य के हुनुपर्छ ? भन्नेबारे गम्भीर राष्ट्रिय विश्लेषण, समीक्षा र सिंहावलोकन गर्नु अपरिहार्य बनेको छ ।
हाम्रा लोकतान्त्रिक पद्धति, प्रक्रिया र कार्यशैली कति जनआकांक्षासापेक्ष एवं परिणाममुखी तथा जनमुखी बन्न सके अनि संविधानले लक्षित गरेका मूल्य–मान्यताहरू कत्तिको संस्थागत हुन सके भन्नेबारे मन्थन हुनु जरुरी छ ।
संविधानको लोकतान्त्रिक प्रतिबद्धता र आत्माका रूपमा रहेका ३१ वटा मौलिक हकले आम नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीमा अझै प्रत्यक्ष परिवर्तन ल्याउन सकेका छैनन् । मधेशी, थारू, हिमाली, जनजाति तथा निरपेक्ष गरिबीको रेखामुनि रहेका सीमान्तकृत वर्गका जायज मागहरू पूर्ण रूपमा सम्बोधन हुन नसक्दा संविधानको सर्वस्वीकार्यता अझै अधुरै छ ।
बदलिँदो विश्व परिवेश र हाम्रो भू–राजनीतिक जटिलताबीच विभाजन होइन, सम्पूर्ण एकता र मेलमिलापतिर राष्ट्रिय सोच निर्माण आजको आवश्यकता हो । यतातिर सबै पक्ष गम्भीर हुनुपर्ने जरुरी छ ।
मौलाउँदो भ्रष्टाचार, राजनीतिक भागबन्डा, विधिविहीनता र दण्डहीनताले संवैधानिक कानुनी शासनको अनुभूति फिक्का बन्दै गएको छ ।
तसर्थ, संविधान दिवस केवल औपचारिक भाषण र कर्मकाण्डी उत्सवमा मात्र सीमित नबनोस् । राज्य सञ्चालकहरू र हामी सबै जिम्मेवार पक्षले देखिएका त्रुटिहरू स्वीकार गर्दै यसलाई थप जीवन्त, उत्तरदायी र जनमुखी बनाउने दृढ सङ्कल्प गरौं । संविधानले परिकल्पना गरेको सार्वभौमसत्ता वास्तविक रूपमै नागरिकको दैनिकीमा गाँस, बास र कपासमा महसुस हुन सकोस् ।
संविधान दिवस २०८३ को पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।


