स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका घटना बढेको पाइएको छ । नजिकैको जङ्गलबाट आएका स्यालका हूलले मानिस र पशु चौपायालाई आक्रमण गरी घाइते तुल्याउने क्रम बढेको छ ।

स्यालको टोकाइबाट बितेको २० दिन यता नगरपालिका विभिन्न क्षेत्रमा १० जना घाइते भएको वडा नं ६ का वडाध्यक्ष सन्तलाल घिसिङले जानकारी दिनुभयो ।

गएको शुक्रबार साँझ मात्रै सोही वडामा एक बालिकासहित चार जनालाई स्यालले आक्रमण गरेको हो । स्यालको आक्रमणबाट हालसम्म तीन दर्जनभन्दा बढी पशुचौपाया घाइते भएका छन् ।

स्यालको आक्रमणबाट पछिल्लो समय स्थानीय ३० वर्षीया शर्मिला मैनाली, ३५ वर्षीया सावित्रा कुमारी मैनाली, ५७ वर्षीया देवमाया शिवाकोटी र दुई वर्षीया बालिका गोपिकाकुमारी महतो घाइते हुनुभएको छ । उहाँहरूलाई साँझ घर वरपर काम गरिरहेको अवस्थामा स्यालले आक्रमण गरेको थियो । उहाँहरूको हात, खुट्टासहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । स्यालको आक्रमणबाट त्यस नगरपालिका–१, ६ र ८ बढी प्रभावित रहेको पाइएको छ ।

वनक्षेत्र नजिकै भएकाले मानव बस्तीमा पसी दिउँसो नै स्यालले मानिस र पशु चौपायालाई आक्रमण गर्न थालेपछि सर्वसाधारणलाई घर बाहिर निस्कन समेत डर मान्न पर्ने स्थिति बनेको स्थानीय रमेश लामा बताउनुहुन्छ ।

स्यालको आक्रमणका घटना बढेपछि स्याल नियन्त्रणका लागि डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको नगरप्रमुख रमेश बुडाथोकी बताउनुभयो ।

“केही दिनयता स्यालले नगर क्षेत्रका केही गाउँमा आतङ्क मच्चाएको छ,” उहाँले भन्नुभयो, “हामीले वन कार्यालय र पुलिस प्रशासनलाई समेत खबर गरी स्याल नियन्त्रण गर्न आग्रह गरेका छौँ ।”

स्यालको आक्रमणबाट घाइते मानिस र पशु चौपायालाई रेबिज सङ्क्रमण नहोस् भनी पालिकाले प्रदेश सरकारसँग समन्वय गरी आवश्यक खोप लगाउने काम गरिरहेको नगर स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार, पछिल्ला दिनमा स्वास्थ्यकर्मी र पशु चिकित्सकको टोली गाउँ–गाउँमै पुगेर घाइतेको उपचार गरिरहेको छ ।

सम्बन्धित समाचार