काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा शर्माको निधन

शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्माको बुधबार ८६ वर्षको उमेरमा निधन भएको छ ।

शिक्षाविद् डा शर्माको उपचारका क्रममा बुधबार काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो । उहाँको बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सिन्धुलीमा १९९७ साउनमा जन्मिनुभएका डा शर्माले रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएको थियो । उहाँ नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षाविद्का रूपमा परिचित हुनुहुन्थ्यो । सामुदायिक क्षेत्रबाट विश्वविद्यालय सञ्चालन र उच्च शिक्षाको विस्तारमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो ।

विशेषगरी उच्च शिक्षालाई प्राविधिक तथा व्यावसायिक धारसँग जोड्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ शिक्षाविद् डा शर्माले विभिन्न शिक्षालयमा रहेर काम गर्नुभएको थियो ।

काठमाडौँ विश्वविद्यालय स्थापनापछि संस्थापक उपकुलपतिका रूपमा शिक्षाविद् डा शर्माले विश्वविद्यालयको शैक्षिक तथा संस्थागत आधार निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँको नेतृत्वमा विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै उच्च शिक्षामा नयाँ अभ्यासको सुरुआत गरेको थियो ।

शिक्षाको गुणस्तर, अनुसन्धान तथा व्यावसायिक शिक्षाको विस्तारलाई प्राथमिकता दिनुपर्ने मान्यता राख्दै आउनुभएका शिक्षाविद् डा शर्माले नेपालको उच्च शिक्षा क्षेत्रमा लामो समय योगदान दिनुभएको थियो ।

सम्बन्धित समाचार