युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत   

लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण एकाएक उल्लासमय बन्छ । परम्परागत वेशभूषा, बाजागाजा र नृत्यको तालमेलले पुस्तौँदेखि चलिआएको नेवा समुदायको सांस्कृतिक विरासतलाई जीवन्त बनाइदिन्छ ।

व्यास नगरपालिकाका विभिन्न टोलमा देखिने लाखे नाचको विशेषता केवल परम्परागत नृत्यको प्रस्तुति मात्र होइन, यसमा नयाँ पुस्ताको बढ्दो सहभागिता र अग्रजबाट युवामा भइरहेको सांस्कृतिक पुस्तान्तरण पनि हो ।

नेवा समुदायको मौलिक संस्कृति र परम्पराको महत्वपूर्ण हिस्सा मानिने लाखे नाच संरक्षणमा व्यासका युवायुवती सक्रिय भएका छन् । नेवाः तजिलजि पुचःमा आबद्ध युवाले अग्रज पुस्ताबाट लाखे नाचका चाल, हाउभाउ, ताल र प्रस्तुतीकरण सिकेर आफैँ प्रदर्शन गर्न थालेका छन् ।



पहिले अग्रज पुस्ताले मात्र सम्हाल्दै आएको सांस्कृतिक जिम्मेवारी अहिले युवाको काँधमा आउन थालेको छ । यही कारण लाखे नाच अहिले केवल एउटा पर्व विशेषको प्रस्तुति नभई एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गरिरहेको जीवित सांस्कृतिक पाठशाला जस्तो बनेको छ ।

नेवाः तजिलजि पुचःका अध्यक्ष सन्देशनारायण श्रेष्ठका अनुसार युवापुस्तामा पछिल्लो समय आफ्नो भाषा, संस्कृति र परम्पराप्रति चासो बढ्दै गएको छ । अग्रज पुस्ताबाट सिकेको सीपलाई युवाले आत्मसात् गर्दै आफूपछिको पुस्तालाई सिकाउन थालेपछि संस्कृति संरक्षणको अभियान अझ बलियो बनेको उहाँ बताउनुहुन्छ ।

“लाखे नाच हाम्रो संस्कार र संस्कृतिसँग जोडिएको परम्परा हो । यसको संरक्षणका लागि नयाँ पुस्तालाई सहभागी गराउँदै आएका छौँ,” उहाँले भन्नुभयो, “अग्रजबाट सिकेको सीप युवाले सिक्दै र सिकाउँदै गए भने मात्रै मौलिक परम्परालाई पुस्तौँसम्म निरन्तरता दिन सकिन्छ ।”

लाखे नाचको संरक्षणका लागि पुचःले हरेक वर्ष प्रदर्शन गर्दै आएको छ । प्रदर्शनका क्रममा युवालाई प्रत्यक्ष सहभागी गराउने मात्र होइन, नियमित अभ्यास र प्रशिक्षण दिइँदै आएको छ ।

नाचका विभिन्न चाल, हाउभाउ, ताल तथा प्रस्तुतीकरणसँगै परम्परागत बाजागाजाको प्रयोगका विषयमा युवालाई सिकाउने गरिएको छ । यसरी सिकेको सीप प्रदर्शनका क्रममा प्रयोग गर्दा युवामा आत्मविश्वास बढ्दै गएको छ ।

 पाँच वर्षका बालबालिकादेखि युवासम्म    

नेवाः तजिलजि पुचःमा हाल करिब एक सय युवा युवती आबद्ध छन् । त्यसमा बालबालिकाको सहभागिता उल्लेख्य छ । पाँच वर्षको उमेरदेखि नै बालबालिकालाई सांस्कृतिक गतिविधिमा सहभागी गराउने गरिएको छ ।

सानै उमेरदेखि संस्कृति र परम्परासँग परिचित गराएमा उनीहरूले त्यसलाई आफ्नो जीवनको अभिन्न हिस्साका रूपमा ग्रहण गर्ने अध्यक्ष श्रेष्ठको विश्वास छ । “सानै उमेरदेखि बालबालिकालाई संस्कृति र परम्परासँग जोड्न सके भविष्यमा यसको संरक्षण गर्न सहज हुन्छ,” उहाँ भन्नुहुन्छ ।

लाखे नाच हेरेर रमाउने बालबालिका अब स्वयम् लाखेको चाल सिक्न थालेका छन् । धिमेको तालमा शरीर चलाउन सिकिरहेका छन् । बाजाको तालसँग नृत्यको तालमेल मिलाउन अभ्यास गरिरहेका छन् ।

संस्कृति संरक्षणमा सबैभन्दा महत्वपूर्ण पक्ष पुस्तान्तरण हो । कुनै पनि परम्परा लिखित दस्तावेजमा मात्र सीमित भयो भने त्यसको जीवन्तता हराउन सक्छ । तर एउटा पुस्ताले अर्को पुस्तालाई व्यवहारमै सिकाउँदै लगेमा संस्कृति पुस्तौँसम्म बाँचिरहन्छ ।

व्यासमा अहिले यही प्रक्रिया देखिन थालेको छ । अग्रज पुस्ताबाट लाखे नाच सिकेका युवाले अहिले नयाँ पुस्ताका बालबालिकालाई सिकाउन थालेका छन् । यसले पुरानो पुस्ताबाट सिकेको ज्ञान र सीप युवामा पुगेपछि त्यही सीप बालबालिकामा पुग्ने वातावरण बनेको छ ।

स्थानीय युवा निमेश श्रेष्ठका अनुसार आफूहरू अग्रजबाट सिक्दै सांस्कृतिक गतिविधिमा सहभागी हुन थालेपछि परम्परालाई निरन्तरता दिन सहज भएको छ । उहाँका अनुसार लाखे नाच सिक्नु केवल नृत्य सिक्नु मात्र होइन, आफ्नो समुदायको इतिहास, संस्कार र पहिचान बुझ्ने अवसर पनि हो ।
    
 लाखेसँगै धिमेको ताल  

नेवाः तजिलजि पुचःको सांस्कृतिक अभियान लाखे नाचमा मात्र सीमित छैन । पुचःले नेवारी संस्कृतिमा प्रयोग हुने धिमे बाजा, परम्परागत सङ्गीत तथा विभिन्न नृत्यको प्रशिक्षण दिँदै आएको छ ।

धिमे बाजाको ताल र लाखे नाचबीचको सम्बन्धलाई युवापुस्ताले बुझून् भन्ने उद्देश्यले नियमित अभ्यास गराउने गरिएको छ । विशेषगरी युवा तथा बालबालिकालाई धिमे बाजा बजाउने सीप सिकाएर सांस्कृतिक कार्यक्रममा सहभागी गराउने गरिएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

उहाँका अनुसार सांस्कृतिक गतिविधिलाई पर्व र उत्सवका समयमा मात्रै प्रदर्शन गर्ने परम्परामा सीमित नराखी नियमित सिक्ने, अभ्यास गर्ने र प्रस्तुत गर्ने वातावरण बनाउन आवश्यक छ । “संस्कृति पर्वमा देखाउने कुरा मात्र होइन । यसलाई दैनिक जीवनसँग जोड्न सकियो भने मात्रै नयाँ पुस्तामा यसको अपनत्व बढ्छ,” श्रेष्ठको भनाइ छ ।

 १५ गुठीका युवालाई एउटै अभियानमा जोड्दै   

व्यास नगरपालिकाभित्र रहेका १५ वटा गुठीमा आबद्ध युवालाई नेवाः तजिलजि पुचःले एउटै सांस्कृतिक अभियानमा जोडेको छ । विभिन्न गुठीका आफ्ना–आफ्नै परम्परा र सांस्कृतिक अभ्यास भए पनि युवालाई साझा मञ्चमा ल्याएर नेवारी भाषा, कला, संस्कार तथा परम्पराको संरक्षण गर्ने प्रयास भइरहेको छ ।

यसले एकातिर युवाबीच सांस्कृतिक सम्बन्ध विस्तार गरेको छ भने अर्कोतर्फ विभिन्न गुठीमा रहेका सांस्कृतिक ज्ञान र सीपलाई साझा रूपमा अगाडि बढाउने अवसर दिएको श्रेष्ठको भनाइ छ ।
    
नाच र बाजाभन्दा अगाडि भाषा र लिपिको चिन्ता     

पुचःले अब लाखे नाच र परम्परागत बाजागाजासँगै नेपाल भाषा तथा रञ्जना लिपिको प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ । अध्यक्ष श्रेष्ठका अनुसार नाच र बाजा जोगाएर मात्रै संस्कृति पूर्ण रूपमा संरक्षण हुन सक्दैन । भाषा र लिपि पनि संस्कृतिको महत्वपूर्ण आधार भएकाले त्यसको संरक्षणमा नयाँ पुस्तालाई जोड्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

“नाच र बाजा मात्रै होइन, हाम्रो भाषा र लिपि पनि संस्कृतिको महत्वपूर्ण आधार हो । त्यसैले युवापुस्तालाई नेपाल भाषा र रञ्जना लिपि सिकाउने तयारी गरेका छौँ,” उहाँले भन्नुभयो ।

आधुनिक जीवनशैली र प्रविधिको बढ्दो प्रभावका कारण नयाँ पुस्तामा मौलिक भाषा र लिपिको प्रयोग घट्दै गएको उहाँको बुझाइ छ । त्यसैले बालबालिका र युवालाई आकर्षित गर्ने गरी भाषा तथा लिपि सिकाउने कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

 आधुनिकताबीच मौलिकताको खोजी    

प्रविधिको विकाससँगै मानिसको जीवनशैलीमा तीव्र परिवर्तन आएको छ । मोबाइल फोन, सामाजिक सञ्जाल र आधुनिक मनोरञ्जनका माध्यमले नयाँ पुस्ताको दैनिक जीवनमा गहिरो प्रभाव पारेका छन् ।

यस्तो अवस्थामा परम्परागत संस्कृति र मौलिक अभ्यासलाई नयाँ पुस्तासम्म पु¥याउनु चुनौतीपूर्ण बन्दै गएको छ । तर व्यासमा युवाले आफैँ लाखेको मुखौटा लगाएर नाच्न थालेका छन् । धिमे बजाउन थालेका छन् । अग्रजबाट सिकेका चाल र ताल नयाँ पुस्तालाई सिकाउन थालेका छन् । यही सक्रियताले मौलिक संस्कृति संरक्षणप्रति आशा जगाएको छ ।

संस्कृति संरक्षणका लागि केवल अग्रज पुस्ताले प्रयास गरेर पुग्दैन । नयाँ पुस्ताले त्यसलाई आफ्नो मानेर अपनत्व महसुस गर्नुपर्छ । व्यासमा अहिले देखिएको युवा सहभागिताले यही अपनत्व बढ्दै गएको सङ्केत गरेको छ । लाखे नाच धेरैका लागि मनोरञ्जनको माध्यम हुन सक्छ । तर नेवा समुदायका लागि यो आफ्नो इतिहास, संस्कार र सामुदायिक पहिचानसँग जोडिएको परम्परा भएको श्रेष्ठको भनाइ छ ।
    
 संरक्षणसँगै प्रोत्साहनको अपेक्षा   

लाखे नाचलगायतका मौलिक सांस्कृतिक गतिविधिमा युवाको सहभागिता बढ्दै गए पनि यसको दीर्घकालीन संरक्षणका लागि स्थानीय तह, समुदाय र सरोकारवाला संस्थाको निरन्तर सहयोग आवश्यक रहेको युवाको भनाइ छ ।

लाखे नाच सिक्ने र सिकाउने प्रक्रिया निरन्तर बनाउन प्रशिक्षण, पोशाक, बाजागाजा, अभ्यासस्थल तथा सांस्कृतिक कार्यक्रमका लागि आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने मागसमेत गरिएको छ ।

सम्बन्धित समाचार