नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर रुपमा पहल हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा समयको माग गर्दै उपनेता पराजुलीले हिमाल संरक्षण अभियानलाई सार्थक र परिणाममुखी बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा साझा प्रयास हुनुपर्ने बताउनुभयो ।
उहाँले मुलुकका शीर्षनेताहरू सम्मिलित सर्वदलीय संयन्त्रको अनुरोधमा गठन भएको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ को सभापतिको जिम्मेवारी प्राप्त भएकाले हिमाल संरक्षणलाई केन्द्रमा राखेर अघि बढ्ने बताउनुभयो ।
सो समितिले पूर्वाग्रह र पूर्वनिर्धारित निष्कर्षका आधारमा होइन, वैज्ञानिक प्रमाण र प्रभावित नागरिकको भोगाइका आधारमा निष्पक्ष तथा परिणाममुखी अध्ययन गर्ने उहाँले स्पष्ट गर्नुभयो ।
उपनेता पराजुलीले सम्बन्धित क्षेत्रका विज्ञ, विश्वविद्यालय, अनुसन्धान संस्था, सरकारी निकाय, सुरक्षा निकाय, सञ्चारजगत, स्थानीय तह र प्रभावित नागरिकसँग सहकार्य गरी जलवायु परिवर्तनको प्रभाव, विपद्को कारण, जोखिम न्यूनीकरण, पूर्वचेतावनी, उद्धार–राहत, पुनःस्थापना र दिगो पुनर्निर्माणसम्मका विषयलाई समेटेर तोकिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले हालैको बाढी, पहिरोबाट प्रभावित नागरिकको ज्यान जोगाउने, प्रभावित परिवारसम्म समयमै सहायता पुर्याउने र असहज एवं अवरुद्ध जनजीवनलाई यथासक्य छिटो सामान्य बनाउनेतर्फ सरकारसहित सम्बद्ध सबैपक्षको ध्यान केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
“जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरिएका नागरिकको बसाइ सुरक्षित मात्र होइन, मर्यादित र व्यवस्थित पनि हुनुपर्छ”, उहाँले भन्नुभयो, “राहत वितरण पहुँच वा प्रभावका आधारमा होइन, आवश्यकता र औचित्यका आधारमा हुनुपर्छ ।”
रास्वपा संसदीय दलका उपनेता पराजुलीले उद्धार, राहत, पुनर्निर्माण र पुनःस्थापनामा हाम्रा तीनै तहका सरकार, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक सङ्घसंस्था र स्थानीय समुदायबीच स्पष्ट जिम्मेवारीसहित प्रभावकारी समन्वय हुन आवश्यक रहेको बताउनुभयो ।

