नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।

नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले कांग्रेसको १५ औं महाधिवेशनका सहभागी सम्पूर्ण साथीहरूलाई नयाँ नेतृत्व चयनमा विवेकशील हुन हार्दिक अनुरोध गरेका छन् । यो महाधिवेशन इतिहासकै एक गरिमामय अध्याय हुने, सामर्थ्यवान र गौरवशाली पहिचानका साथ स्थापित हुने, अस्वस्थ गुटबन्दी, आन्तरिक फूट र भागबण्डाको राजनीतिबाट मुक्त गर्दै वैचारिक पुनर्जागरणका साथ ‘नवीन र बदलिएको कांग्रेस’ निर्माण गर्ने प्रस्थान बिन्दु हुने भन्दै सबैको सतत् प्रयत्न यसतर्फ नै उन्मुख रहोस् भन्ने कामना गरेका छन् ।
उनले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै अपिल गरेका छन्–
प्रिय साथीहरू,
हाल सञ्चालन भइरहेको नेपाली कांग्रेसको १५ औं महाधिवेशन धेरै अर्थमा ऐतिहासिक र युगान्तकारी बनेकोछ। यसले हाम्रो भावी दलीय जीवनलाई थप ऊर्जाशील, गतिशील र परिणाममुखी बनाउनेछ भन्नेमा दुई मत छैन। देशभर देखिएको व्यापक उत्साह र विशेष गरी युवापुस्तामा सञ्चार भएको नवीन आशाले यो महाधिवेशनलाई इतिहासकै एक गरिमामय अध्यायका रूपमा स्थापित गर्ने निश्चित छ।
गत २०८२ पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनले दिएको दूरगामी मार्गदर्शन,सन्देश र मर्मलाई यस नियमित महाधिवेशनले पूर्णता दिनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।
विगतका कमीकमजोरी, आन्तरिक गुटबन्दी, गिरोहवाद र विकृतिहरूलाई ‘कोर्स करेक्सन’ गर्दै नेपाली कांग्रेसलाई पुनः आफ्नो पूर्वहैसियत, सामर्थ्य र गौरवशाली पहिचानका साथ स्थापित गर्न यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ।
यो महाधिवेशनको गरिमामय उत्साहपुर्ण वातावरणले पार्टीलाई संस्थागत, विधिसम्मत, पारदर्शी र नीतिमुखी दिशामा अगाडि बढाउनेछ र हाम्रा सम्पूर्ण प्रयासहरू यसमै केन्द्रित हुनुपर्छ। जटिल राष्ट्रिय परिस्थिति र वैश्वीकरणको वर्तमान द्वन्द्वपूर्ण भुपरिवेशमा मुलुकलाई सही नेतृत्व र राष्ट्रिय एकता प्रबर्द्धन गर्ने गुरुत्तर भुमिका नेपाली कांग्रेसको आज दायित्व हो।
पार्टी एकताका लागि मैले हिजो पनि इमानदार प्रयास गरेको थिएँ र भोलि पनि निरन्तर गरिरहनेछु। एकता भनेको महाधिवेशनको निश्चित अवधिका लागि मात्र नभई अनवरत चलिरहने प्रक्रिया हो। त्यसैले एकताका लागि हामी सबैले आ-आफ्नो ठाउँबाट उदार, लचिलो र फराकिलो सोच राख्नु आवश्यक छ। नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो त नेपाली इतिहासको हरेक मोडमा नवीनता र निरन्तरताको सुन्दर सङ्गम सिद्ध भएको गौरवशाली लोकतान्त्रिक आन्दोलन हो।
अग्रज पुस्ताको अनुभव, त्याग र मार्गदर्शनलाई नयाँ पुस्ताको अदम्य ऊर्जा, साहस र नवप्रवर्तनसँग जोड्ने सबल सेतुका रूपमा यस पार्टीको इतिहास सदैव अद्वितीय र अनुकरणीय रहेको छ।
देशमा बिध्यमान आर्थिक बिसमता ,बदलिँदो सामाजिक-राजनीतिक परिवेशका साझा चुनौतीहरूलाई गम्भीरतापूर्वक हृदयङ्गम गर्दै यश अधिबेशनबाट तय गरिएका नीति र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन नै अबको हाम्रो मूल दायित्व हो।
पार्टीलाई वर्षौंदेखि जकडेको अस्वस्थ गुटबन्दी, आन्तरिक फूट र भागबण्डाको राजनीतिबाट मुक्त गर्दै वैचारिक पुनर्जागरणका साथ ‘नवीन र बदलिएको कांग्रेस’ निर्माण गर्नु नै विशेष महाधिवेशनको मूल मर्म थियो । यो १५ औं महाधिवेशनले यस लक्ष्यलाई पूर्ण रूपमा सार्थक र सफल बनाउनेछ भन्ने मेरो भरोसा छ।
नेतृत्व चयनका क्रममा निष्ठावान् कार्यकर्ताको निरन्तर योगदान, जनप्रियता, उच्च योग्यता, साङ्गठनिक प्रतिबद्धता र युवा सहभागितालाई मुख्य आधार बनाएर सर्वसम्मतिको अधिकतम प्रयास र यदि सम्भव नभएमा हामीले स्वस्थ, निष्पक्ष र गुटमुक्त लोकतान्त्रिक प्रतिस्पर्धालाई सहर्ष आत्मसात् गर्नुपर्छ। ”लोकतन्त्रमा मत विभाजन हुन सक्छ, तर मन विभाजन हुनु हुँदैन।”
लोकतन्त्रको वास्तविक सुन्दरता विचार र विवेकको स्वतन्त्र प्रयोगमा निहित छ। त्यसैले यो प्रतिस्पर्धालाई कुनै पनि प्रकारको अवाञ्छित हस्तक्षेप, दबाब वा विचार लाद्ने प्रवृत्तिबाट पूर्ण रूपमा मुक्त बनाइनुपर्छ।
जहाँसम्म मेरो व्यक्तिगत निर्णयको विषय छ- म यस १५ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिएको कुरा सम्पूर्ण साथीहरूमा सादर निवेदन गर्दछु।
यो निर्णय कुनै असन्तुष्टि, निराशा वा अडानका कारण लिइएको होइन। म पूर्ववत् उत्साह र ऊर्जाका साथ तपाईंहरूसँगै निरन्तर क्रियाशील रहनेछु। मेरो अबको सम्पूर्ण ध्यान र प्रयास व्यक्तिगत पदप्राप्तिमा होइन, पार्टीको अभेद्य एकता र संस्थागत सुदृढीकरण र समग्र रास्ट्रीय एकता को प्रयासमा समर्पित हुनेछ। प्राविधिक वा सर्तसहितको एकता होइन; सैद्धान्तिक, वैचारिक र भावनात्मक एकताले मात्रै समृद्ध नेपाल निर्माण र राष्ट्रिय एकताको मार्गप्रशस्त गर्दछ। तसर्थ, हामी सबैको सतत प्रयत्न यसतर्फ नै उन्मुख रहोस्।

