नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा दुई पदाधिकारी र एक केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र केन्द्रीय सदस्य महिला (काठमाडौँ उपत्यका)तर्फ डा अमिता प्रधान शाक्य निर्वाचित हुनुभएको जानकारी दिनुभयो ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन
यसैबीच, सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।
केन्द्रीय निर्वाचन समितिले बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै आज (बिहीबार) बिहान १०ः०० बजेदेखि मतदान हुनेछ ।
कार्यक्रम अनुसार, बागमती प्रदेशका मतदाताका लागि राष्ट्रिय सभा गृहमा व्यवस्था गरिएको छ । यस्तै, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र नेपाली जनसम्पर्क समितिका लागि खुल्लामञ्चमा व्यवस्था गरिएको छ ।
कोशी र मधेस प्रदेशका लागि खुल्लामञ्चस्थित (तराई मधेस हल), गण्डकीका लागि (हिमाली) हल र कर्णाली, सुदूरपश्चिम र नेपाली जनसम्पर्क समितिका लागि (पहाड) हलमा मतदानको व्यवस्था गरिएको सदस्यसचिव कटुवालले बताउनुभयो ।
मतदानस्थलमा मोबाइललगायत निर्वाचन आचारसंहिताले निषेध गरेका कुनै पनि सामग्री लैजान नपाइने निर्वाचन समितिले जनाएको छ ।

